मलेसिया पराजित, नेपालको शानदार जित

बैशाख २, काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले जित हात पारेको छ ।
नेपालले मलेसियालाई ८ विकेटले पाखा लगाएको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
null
क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालल १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रित गौतमले ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रन बनाए ।
मलेसियाका साफीक स्याकिर र सुक्री मादेलीले १/१ विकेट लिए भने कमल सिंह ऐरीले २ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लािग लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। यस्तै मुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका पवन सर्राफ र कुशल मल्ले ३/३ विकेट लिए।
सुरुवाती दुई खेलमध्ये एक खेल मात्रै जितेको नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो ।








