‘तीन सन्तान जोगाएँ, आमा र श्रीमती गुमाएँ’

वीरगंज, २१ चैत्र । बारा भलुहीका ३० वर्षीय भीमदास तात्वाको काँधमा ६ वर्षमुनिका तीन छोरीछोरा स्याहार्ने जिम्मेवारी आइलागेको छ । ६ वर्षीया छोरी सन्ध्या, चार वर्षीया छोरी प्रियंका र १० महिनाका छोरा सञ्जितलाई श्रीमती रुना र आमा मोतीसरी देवीले स्याहारसुसार गर्दै आएका थिए । आइतबार सााँझको विनाशकारी हावाहुरी ती सासूबुहारीका लागि मृत्यु बनेर आइदियो । तीन सन्तान जोगाएका भीमले आमा र श्रीमती भने गुमाउनुपर्‍यो । 

भलुहीका स्थानीयले त्यस दिनको भयानक दृश्य बिर्सन सकेका छैनन् । साँझ छिप्पिँदै गर्दा उत्तर दिशातर्फ चर्को गड्याङगुडुङसँगै आकाशले पटकपटक क्यामराले झैं प्रकाश फालेको थियो । हावाले बिस्तारै गति लिँदै गर्दा सबैले गाईबस्तु, बाख्रा, खसी, हाँस, कुखुरा आआफ्ना घरमा पुर्‍याइसकेका थिए । जहानछोराछोरी लिएर गाउँलेहरू घरभित्र सुरक्षित हुन खोजे । त्यति बेला हावाको चाल ठीक छैन भन्ने भेउ भीमले पाइसकेका थिए । असिनाका मसिना दाना हावामा मिसिएर छरिन थाले । हावा अझ बढेपछि भीम डराए । 

 

null

उनले दायाँबायाँ केही नसोची साना छोरा र दुई छोरीलाई डोर्‍याउँदै खाटमुनि पुर्‍याए । आमा र श्रीमती फर्किसकेका थिएनन् । उनको मन बेचैन भयो । बाहिर गएका दुवैजना फर्केर आए हुन्थ्यो भन्ने विचार गरिरहे । तीन अबोधलाई छाडेर खोज्न जाने अवस्था पनि भएन । एकै छिनमा पश्चिम दिशाबाट घुम्दै ठूलो भुमरी आएर गाउँलाई अस्तव्यस्त पार्न थाल्यो । उनी आफैं पनि खाटमुनि छिरे । थाम्न नसकिने आवाजसँगै एकाएक केही देख्न नसकिनेगरी अँध्यारोले झ्याप्पै छोपेकोसम्म उनलाई याद छ । त्यति बेला भएको धरतीको कम्पन पनि उनी अलिअलि सम्झन्छन् । पेसाले मिस्त्री उनले पिल्लर ढलान गर्ने क्रममा प्रयोग गरिने ‘भाइब्रेटर मेसिन’ सम्झे । 

कम्पन्न, आवाज र अँध्यारो लिएर आएको थियो भुमरी । चट्याङको उज्यालोमा हेर्ने प्रयास गरे । घर ढलिसकेको देखे । असिनाका ठूला दाना बर्सिन थाले । चट्याङले अर्कोपटक उज्यालो फाल्दा उनले जीवनमा अँध्यारो छाइसकेको पाए । आफ्नै घरको ढलाने खम्बा भत्किएर आमाको पेटनिर छड गाडिएको उनले देखे । टाउकोमा खम्बाको टुक्रा बज्रिँदा श्रीमती अचेत भइसकेकी थिइन् । दुवै रगतको आहालमा डुबेका थिए । ‘बुवा काठमाडौंतिर, घरमा म एक्लै, आमा र श्रीमतीको अवस्थाले होसै हरायो । जसरीतसरी आफूलाई सम्हालेर दुवैलाई अस्पताल त पुर्‍याएँ तर डाक्टरले भने– दुवै मरिसके,’ उनले दुःखी हुँदै भने, ‘मेरो घर मात्र होइन, गाउँमा केही पनि साबिक अवस्थामा थिएन । मलालाई मात्र होइन, अरूलाई पनि बज्रपात भएको थियो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =