ठूला होटल रेस्टुरेन्ट बने तर, सार्वजनिक शौचालय बनेन

 

चैत्र १७ गते, चितवन । चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको निकै लामो समय भईसकेको छ । जानकारहरुका अनुसार सौराहामा वि.सं. २०४२ सालदेखी पर्यटन व्यवसाय सुरु भएको हो । 

साना झुपडीबाट सुरु भएको यहाँको व्यवसाय फस्टाउँदै अहिले उच्चस्तरका होटल तथा रेस्टुरेन्ट बनिसकेका छन् । जंगलको क्षेत्र भएकाले पर्यटकहरु टेण्टमा रात बिताउथे । खाल्डो खनेर शौच गर्ने चलन थियो । तर अहिले न टेण्ट हाल्नु पर्छ न त शौचका लागि खाल्डोनै खन्नु पर्छ । पर्यटन व्यवसाय फस्टाएसँगै यहाँ संरचना निर्माण गर्ने स्थानको अभाव जस्तै छ । होटल रेस्टुरेन्ट निर्माणमा मात्रै ध्यान केन्द्रित गरेका यहाँका व्यवसायीहरुले सार्वजनिक शौचालय निर्माणमा भने सोच्दै नसोचेको परिवेशले बताउँछ । 

null

पर्यटन क्षेत्र जस्तो ठाउँमा सार्वजनिक शौचालय नहुँदा दिनमा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहा ( रेवान) का अध्यक्ष गोकर्ण गिरी सौराहामा सार्वजनिक शौचालय अत्यावश्यक रहेको बताउँछन् । सार्वजनिक शौचालय महसुस गरेको धेरै भयो रेवानका अध्यक्ष गिरी भन्छन् – महसुस मात्र भयो तर निर्माणमा ध्यान दिईएन्, अहिले पर्यटकलाई समस्या परिरहेको छ । होटल रेस्टुरेन्टमा वस्दा त्यही व्यवस्था हुने भएपनि वाहिर निस्कदा पर्यटकहरुलाई समस्या पर्ने गरेको आफुहरुले महसुस गरेको उनी स्वीकार गर्छन् । सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएको र त्यसको विकल्पमा घुम्ती शौचालय राख्न सकिने गिरीको भनाई छ । स्थायी शौचालय भन्दा घुम्ती शौचालय उपयुक्त हुन्छ रेवान सौराहाका अध्यक्ष गिरीले भने – तर यसका लागि नेतृत्वकर्ताको अभाव छ ,तुरुन्त सबैलाई यो विषयको सुनुवाई गर्नुपर्छ । 

 

रत्ननगरको चित्रसारी देखी राप्ती ड्यामसम्म पर्यटन क्षेत्र हो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे पनि जग्गा अभावका कारण शौचालय निर्माण हुन नसकेको बताउँछन् । जग्गाकै अभाव छ उनी भन्छन् – जग्गाको व्यवस्था भए होटल संघ,रेवान मिलेर शौचालय निर्माण गर्छौ । सार्वजनिक रुपमा शौचालय नहुँदा पर्यटकहरु बगर कुद्नु पने स्थिती रहेको घिमिरेको भनाई छ । रत्ननगरका मेयर नारायण बनले सौराहामा घुम्ती शौचलय राख्नका लागि प्रक्रिया अगाडी बढाईएको बताए । हामीलाई पनि आवश्यकता महसुस भएको छ मेयर वन भन्छन् – त्यही आवश्यकतालाई मध्यनजर गर्दै अहिले एउटा घुम्ती शौचालय ल्याउँदछौ । 

सौराहामा अहिले १ सय १० वटा होटल तथा ५६ वटा रेस्टुरेन्ट छन् । जंगली जनावरले सौराहालाई अन्तराष्ट्रियस्तरमा चिनाउँदै आएको छ । सौराहासँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैडा, पाटेबाघ, हात्ती लगायतका जनावरहरु अवलोकन गर्न पाईन्छ भने स्थानीय थारु समुदायको सस्कृति समेत हेर्न पाईन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *