रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड

जनकपुर, ४ वैशाख । शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् ।
आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ ।
null
हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन् । राष्ट्रिय जनता पार्टी राजपाबाट बाबुछोराले चुनाव जितेका हुन् । छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।
जनकपुरमा कानुन महाविद्यालयको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख रुपैयाँमा ५ लाख थप गरेर १० लाख रुपैयाँ हनुमाननगरस्थित महासेठ पोखरीघाट निर्माण गर्न दिइएको छ । शिक्षा आवासीय विद्यालयका लागि सम्भाव्यता अध्ययनको ५ लाख रुपैयाँमा ७० लाख रुपैयाँ थपेर ७५ लाख रुपैयाँ हनुमाननगरको योगिनियामा भगवती मन्दिरको पर्खाल र धर्मशाला बनाउन विनियोजन गरिएको छ ।
बालअधिकारसम्बन्धी कार्यक्रमको अनुगमन र निरीक्षणमा विनियोजन गरिएको ४ लाख ८० हजारमा थपेर २ करोड २५ लाख २२ हजार रुपैयाँ योगिनियामा सामुदायिक भवन बनाउन दिइएको छ ।प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी दल नेकपा र कांग्रेसले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै बैठकमा अवरोध गरे । कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले सामाजिक विकासमन्त्रीले छोरा मेयर रहेको नगरपालिकामा २४ करोड रुपैयाँ रकमान्तरण गरेको भन्दै सरकारको जवाफ मागेका थिए ।
मन्त्रालयले माघ ७ गते कार्यक्रम परिमार्जनलाई स्वीकृत गर्दै शिक्षा र स्वास्थ्यको बजेट फुटकर योजनामा दिएको हो । कलाजार क्षेत्रमा विषादी छर्कने मेसिन खरिदको ७ लाख ५० हजार रुपैयाँ बाराको जनता मावि कचौरवाको कक्षाकोठा बनाउन रकमान्तर गरिएको छ । आजको कान्तिपुर दैनिकमा अजित तिवारीले लेखेका छन् ।








