काठमाडौं तराई मधेस द्रुतमार्ग, साना काम सकियो ठूला रोकियो

काठमाडौं, ९ वैशाख । नेपाली सेनाले गत ५ चैतमा सरकारलाई बुझाएको काठमाडौं–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा मन्त्रीपरिषद्बाट स्वीकृत नहुँदा परियोजनाअन्तर्गतका ठूला काम रोकिएको छ । कोरियाली कम्पनी सुसुङले गत २० फागुनमा प्रतिवेदन तयार गरेर सेनालाई बुझाएको थियो । सेनाको सुझावअनुसार निर्माण कम्पनीले पहिले प्रस्तावित भन्दा केही परिमार्जन गरेर डीपीआर तयार गरेको थियो । त्यसपछि सेनाले प्राप्त डीपीआरको मस्यौदामा अध्ययनपछि सुझाव थपेर सरकारलाई बुझाएको थियो । परिमार्जित डीपीआरमा पहिले प्रस्तावित भन्दा सुरुङको संख्या बढेर दूरी घटेको छ । 

तर सेनाले सरकारलाई बुझाएको प्रतिवेदन एक महिना बित्दा समेत मन्त्रीपरिषद् बैठकबाट स्वीकृत नहुँदा परियोजनाअन्तर्गतका ठूला निर्माणका काम रोकिएको हो । सेनाका तर्फबाट परियोजनाको काम हेर्दै आएका एक उच्च सैनिक अधिकारीका अनुसार परियोजनाअन्तर्गतका साना काम भने सेनाले सकिसकेको छ । बाँकी ठूला कामका लागि सेनाले डीपीआर कुरेर बसेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सेनाले छोटो समयमा नै द्रुतमार्गका धेरै काम सकिसकेको जनाए । ‘सेनाले छोटो समयमै द्रुतमार्गको धेरै काम सकेको छ, बाँकी समेत छिटै अघि बढ्छ,’ प्रवक्ता पाण्डेले भने, ‘मन्त्रीपरिषद्बाट छिटै डीपीआर फाइनल भएर आउनेमा हामी विश्वस्त छौं ।’ 

 

null

सरकारले मन्त्रीपरिषद्बाट पास गरेपछि सेनालाई द्रुत मार्गको बाँकी काम गर्न कानुनी बाटोसमेत खुल्ने छ । कानुनी बाटो प्रष्ट नहुँदा सेनाले पाएको समयावधिभित्र द्रुतमार्ग निर्माण गर्न समेत सकस पर्ने देखिएको छ । सेनाले हालसम्म रुख काट्ने डिस्को मिलाउने, कटिङ गरेको स्थानमा रिफिलिङ गर्ने लगायतका काम गर्दै आएको छ । त्यस बाहेक विभिन्न २८ कन्स्ट्रक्सन कम्पनी मार्फत सेनाले द्रुत मार्गको काम अघि बढाउँदै आएको छ । डीपीआरको स्वीकृतिपछि मात्रै सेनालाई द्रुतमार्गका ठूला कामअन्तर्गत पुल निर्माण, पर्खाल निर्माण, सुरुङ निर्माणलगायतका काम गर्न बाटो खुल्ने छ । 

सुसुङबाट सेनाले प्राप्त गरेको प्रतिवेदन अनुसार द्रुतमार्गमा ९० वटा पुल र तीन वटा टर्नेल (सुरुङ) प्रस्तावित छ । सेनाले केही स्थानमा असहज महसुस गर्दै सुरुङ बढाउन प्रस्ताव गरेपछि डीपीआरमा पुलको संख्या पहिले प्रस्ताव भए भन्दा घटेको छ । यसअघि द्रुतमार्गमा ९९ वटा पुल प्रस्तावित थियो भने लम्बाइ समेत ७६ दशमलव २ किलोमिटर प्रस्तावित थियो । तर अब सुरुङको संख्या बढेपछि दूरीसमेत केही कम हुने भएको हो । पछिल्लो प्रस्तावमा १ दशमलब ४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३ दशमलब ३ किलोमिटरको महादेवटारमा प्रस्ताव गरिएको छ । यस्तै अर्को सुरुङ धेद्रेमा १ दशमलब ३७ किलोमिटरको प्रस्तावित छ । तीन वटै सुरुङको दूरी ६ दशमलब ७ किलोमिटर हुने छ । 

पहिले प्रस्तावित भएको बाहेक अन्य दुई स्थानमा सुरुङ थप हुने भएपछि पहिले प्रस्ताव भएभन्दा ९ वटा पुलको संख्या घट्ने भएकोे छ । पहिलेको प्रस्तावमा ६२ ठूला पुल र अन्य साना पुल प्रस्तावित थियो । प्रस्तावित ७६ दशमलव २ किलोमिटर लामो सो सडक सुरुङ बढेपछि ७२ दशमलब ५ किलोमीटरको हुनेछ । द्रुत मार्ग अन्तर्गतको भागलाई सेनाले १० भागमा विभाजन गरेर २८ वटा कन्ट्र्याक्टरमार्फत काम गरिरहेकोे छ । सेनाले द्रुत मार्ग निर्माणका लागि विभिन्न ९ स्थानमा क्याम्प राखेर काम गरिरहेको छ भने खोकना क्षेत्रमा समेत थप क्याम्प राख्ने तयारी गरेको छ । सो सडक तराइ क्षेत्रमा २७ मीटर र पहाडी क्षेत्रमा २५ मीटर चौडाइ प्रस्तावित छ । 

हाल एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । नेपाली सेनाले २७ साउन २०७४ मा द्रुत मार्ग निर्माणको जिम्मेवारी पाएको थियो । आयोजना निर्माणस्थलमा नेपाली सेनाका १ हजार २ सय सैनिक खटिएका छन् । नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार ११४ किलोमिटर सडक र ३० वटा पुल निर्माण गरिसकेको जनाएको छ । काठमाडौं–तराई मधेस द्रुतमार्गसहित ५२६ किलोमिटर सडकमा हाल सेनाले काम गरिरहेको छ । सेनाले बनाइरहेको २७ सडक मध्ये पाँच वटा चल्तिमा समेत आइसकेको छ । विगत ६० वर्षदेखि नेपाली सेनाले विकास निर्माणका काममा सहभागिता जनाउँदै आएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =