च्याम्पियन्स लिग: पोर्टाेमाथि लिभरपलुको सहज जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टोलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । नावी केइटाले रोबर्टो फिर्मिनोको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलका लागि असिस्ट गरेका रोबर्टोले २६ औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा गोल गरेका थिए ।
null
दोस्रो हाफमा पनि लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल गर्न असफल हुदा पहिलो हाफको २ गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो । यससँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भवानालाई बलियो बनाएको छ । लिभरपुलले दोस्रो लेगमा गोलरहित बराबरी अथवा १–० ले पराजित भएपनि सेमिफाइनलमा स्थान बनाउनेछ ।
यता पोर्टोलाई भने सेमिफाइनलमा स्थान बनाउन निश्चित जित आवश्यकता छ । ३–२ को जित अथवा २–२ को बराबरी गरे पोर्टोले खेल लम्ब्याउने छ । दोस्रो लेग १८ अप्रिलमा पोर्टोको मैदानमा हुनेछ ।








