चन्द्रागिरीको पर्यटन विकासमा मन्त्री नेपालको चासो

 

चैत्र १७, काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको चन्द्रागिरी नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरी विकास मञ्चले शनिबार आयोजना गरेको ‘हाइकिङ उद्घाटन कार्यक्रम’मा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पुरा गर्न पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए ।  

“मुलुकको समृद्धीको आधार पर्यटन हो, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्ययोजना बनाएर अगाडि बढीरहेको छ,”–उनले भने । चन्द्रागिरी नगरपालिका प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको मन्त्री नेपालको भनाई छ ।  प्रदेश–३ उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले पर्यटनको विकाससँगै स्थानीय क्षेत्रमा रोजगारी सृजना हुँदै जाने भन्दै यसको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताइन् । सभापति आलेमगरले समग्र पर्यटन विकासले चन्द्रागिरी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

null

 

कार्यक्रममा चन्द्रागिरी क्षेत्रका २०० व्यक्ति हाइकिङमा सहभागी भएको चन्द्रागिरी विकास मञ्चका सदस्य श्रीहरी थापाले जानकारी दिए । चन्द्रागिरीको पर्यटकीय क्षेत्र दहचोक–इन्द्रदह–काजी कालु पाँडे समाधिस्थल–झाँगाझीटी–वाडभञ्याङको मसिनेसम्म हाइकिङ गरिएको थियो ।  

मन्त्री नेपालले चन्द्रागिरीमा रहेको त्रिभुवन पार्कको अवलोकन गरेका छन् । सोही अवसरमा उनले उक्त क्षेत्रलाई व्यवस्थित बनाएर वनभोजनको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गर्न निर्देशन दिए । मन्त्री नेपालले केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको काजी कालु पाण्डेको शालिक तथा समाधिस्थलको समेत निरीक्षण समेत गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *