आईपीएल: कोलकाताले मुम्बईलाई हरायो, रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौं, १६ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । इडेन गार्डेन स्टेडियममा आइतबार राति भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।
कोलकत्ताले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीको हार टार्न सकेनन् ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिल, क्रिस लिन र आन्द्रे रसेलले अर्धशतक बनाए । निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लिनले ५४ रन बनाए । मुम्बईका राहुल चाहर र हार्दिक पाण्डयाले एक एक विकेट लिए । मुम्बईले १२ खेलमा सात खेल जितेर १४ अंक जोडेको छ भने समान खेल खेलेको कोलकत्ताले पाँच खेलमा जित हात पार्दै १० अंकसहित पाँचौं स्थानमा छ ।








