व्यक्तिगत रुपमा न कुनै डर छ, न कुनै लोभ छ: प्रचण्ड

 

चैत १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युद्ध अपराधको आरोपमा अमेरिकामा आफूलाई पक्राउ गराउने कोशिस भएपनि आफूलाई त्यसबाट कत्ति पनि डर नलागेको बताएका छन् । 

आइतबार रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले युद्ध सकिएर शान्ति सम्झौता भइसकेका कारण आफूलाई कुनै डर नभएको बताएका हुन् । 

null

‘कतिपय मान्छेहरुले त्यो कुराबाट प्रचण्ड डराएको हो कि भन्ने ठानेका होलान्, तर मलाई कुनै डर छैन । किनकी शान्ति सम्झौताबाट संविधान बनिसकेको छ । अब देश समृद्धितिर जाँदैछ’, प्रचण्डले भने, ‘मलाई व्यक्तिगत रुपले न कुनै डर छ, न कुनै लोभ छ ।’ 

कार्यक्रममा उनले अमेरिका भ्रमणका क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्ने प्रयास गरिएकोमा असन्तुष्टि पोख्दै भने, ‘विदेशमा बस्ने नेपालीले त्यस्तो हर्कत गर्नु दुःखद् छ । शान्ति सम्झौतालाई आपराधिक सम्झौताको नाम दिएर हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तर्राष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुपर्यो भन्नु कतिको तर्कसंगत छ ?’ 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अमेरिका बसाईँमा त्यहाँको कांग्रेसको कमिटीले प्रचण्ड हत्यारा हो, पक्राउ गर्नुपर्छ भन्ने निर्णय गरी उजुरी दिएको खबर बाहिरिएको पनि स्पष्ट पारे । 

‘यदि साँच्चै कमिटीले निर्णय गरेको हो र त्यो कांग्रेसकै हो भने उनीहरुले प्रचण्डलाई अपराधी भनेको त प्रकारान्तरले त कांग्रेसलाई पनि अपराधी भनेकै हुन्छ । किनकी उहाँहरुले पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *