वाइडबडी भ्रष्टाचारकाे छानबिन गर्न अख्तियारले बाेलायाे अन्तर्राष्ट्रिय कम्पनी

बैशाख ६, काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा ठला जहाज (वाइडबडी) बिक्रीमा संलग्न पाँच वटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम , पोर्चुगलको हाईफ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि ७ दिनभित्र उपस्थित हुन भनेको हो ।
null
यदि तोकिएको समयसीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
‘ए३३०–२०० जहाज खरिदको विषयमा परेको उजुरीका आधारमा उल्लिखित कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ बमोजिम यो सूचना प्रकाशन गरिएको छु, अख्तियारले पत्रमा भनेको छ, ‘यसको परिपालना नभएमा प्रचलित कानुनबमोजिमको कारबाही अघि बढाइनेछ।’
नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा दुई वटा वाइडबडी जहाज भित्र्याएको थियो । भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथिको छानबिनका क्रममा अख्तियारले बिक्रेता कम्पनीका प्रतिनिधिलाई बोलाएको हो।
निगमले २०७५ को असार र साउनमा युरोपेली कम्पनी एयरबसका दुईवटा जहाज हाइफ्लाई एक्स नामक कम्पनीबाट खरिद गरेको थियो।
वाइडबडी जहाज खरिद प्रक्ररणमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले करिब ४ अर्ब रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो ।
उपसमितिले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर गर्दै मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारलाई दोषी भनेको थियो।








