राहत वितरण अव्यवस्थित, सुत्केरी र बालबालिका जोखिममा
काठमाडौं, २२ चैत । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुमा हुरी प्रभावित बारा र पर्साकै समाचारले प्राथमिकता पाएका छन् । राहत वितरण व्यवस्थित नभएको, सुत्केरी र बालबालिका जोखिममा रहेको, पीडितको घर बनाउने जिम्मा सरकारले पाएको लगायतका समाचार पत्रिकाको मुख्य पुष्ठमा छापिएका छन् ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री र मुख्यमन्त्री बीचको बैठकको विषयलाई मुख्य समाचार बनाएको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेको समाचारमा उल्लेख छ । साथै आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य नघटाएको समाचारलाई पनि कान्तिपुरले प्राथमिकता दिएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले बाराको भरवलिया गाउँका आँधीपीडित बस्तीलाई समाचारको मुख्य विषय बनाएको छ । समाचारमा लेखिएको छ उद्दण्ड हुरी भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने उजाडिएका छैनन् । उनीहरु भन्छन्, चिन्ता लिएर के गर्नु ? जे हुनु भइगयो र बरु सरकारले बेलैमा हेरिदिए हुन्थ्यो ।
null
नागरिक दैनिकले आँधीहुरीबाट पीडित भएकाहरुको संख्या अझै नखुलेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा तत्कालीन भोगाधिकारीले सरकारबाट मुआब्जा लिएर पनि हडपेको पुष्टि भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्र दैनिकले वैशाखमा राष्ट्रिय समन्वय परिषदको बैठक आह्वान गरिएको विषयलाई मुख्य समाचार छापेको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहबीचको समन्वयका लागि राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने बताएका थिए ।
राजधानी दैनिकले भने संघीय राजधानीदेखि प्रदेश मुकाम र जिल्ला सदरमुकामहरुमा गल्लीपिच्छे खुलेका कोचिङ सेन्टरहरुले चर्को शुल्क लिएर विद्यार्थीहरुलाई ठगी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
नेपाल समाचारपत्र दैनिकमा हुरी प्रभावित बाराको फेटा गाउँपालिका ६ पुरैनियाका सुत्केरी र बालबालिका जोखिममा रहेको समाचार छ ।