आईपीएल: हैदरावादलाई पराजित गर्दै चेन्नई फेरि शिर्षस्थानमा

काठमाडौं, ११ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदरावादसँगको खेलमा चेन्नई सुपर किङ्सले जित हात पार्दै शिर्षस्थानमा उक्लिएको छ । आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई सोमबार दिल्लीले जित निकालेपछि दोस्रो नम्बरमा झरेको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
चेन्नईस्थित चिदामबराम स्टेडियममा मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको योगदान गरे । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए । हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए । चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।
null








