प्रिमियर लिग: सिटी शीर्षस्थानमा उक्लियो, आर्सनलको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भएको छ । बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो । 

यस जितसँगै सिटी लिभरपुललाई उछिन्दै शीर्षस्थानमा उक्लिएको छ । त्यसअघि लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई ३-० ले पराजित गरेको थियो । गोलरहित रहेको पहिलो हाफपछि लेस्टरले आर्सनललाई दबाबमा राख्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । उसका लागि फरवार्ड जेमी भार्डीले २ तथा युरी टिलेमान्सले सुरुवाती गोल गरेका थिए ।अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ भने चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ ।आर्सनलको ३६ खेलमा ६६ र म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ६४ अंक छ । आइतबार अन्तिम खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =