कोरियामा भीषण डढेलोले ४ सय घर र ९ सय पशुगोठ ध्वस्त बनायो


चैत २४, सियोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४ सयभन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको छ।
राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए।
null
कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो। हावाहुरी र सुक्खाका कारण तिब्र गतिमा विस्तार भएको आगो नजिकका अरु नगर इलाकामा फैलिएको थियो।
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौं हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकप्टर परिचालन गर्ने आदेश दिएका थिए । हाल आगो नियन्त्रणमा आइसकेको छ ।
आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो। सरकारी विपद् निकायका अनुसार आगलागीबाट अरु व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन तर धनसम्पत्तिको ठूलो क्षति भएको छ।
अधिकारीहरुले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन्। एजेन्सी
