प्रधानमन्त्री ओलीको नयाँ वर्षको पहिलो सम्बोधन, भ्रष्ट र अनैतिक मान्छे सच्चा नेपाली हुनै सक्दैन

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रगति सुनाउने अवस्थामा पुगेको बताएका छन् । आइतबार बिहान बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न सोध्ने तरिका फेर्न समेत सबैलाई आग्रह गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने समेत बताएका छन् । 

प्रधानमन्त्री ओलीले अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गरे । त्यसैगरी दातृ निकायहरुले नेपाल दक्षिण एशियाकै उदाउँदो अर्थतन्त्र भएको जनाएको समेत बताए । बालुवाटारमा मन्त्रिमण्डलका अन्य सदस्यलाई समेत राखेर प्रधानमन्त्रीले गरेको सम्बोधनमा संघियता नेपालका लागि नयाँ भएको सबै तहका सरकारहरुले सिकेर काम अघि बढाउँदै गइरहेको जनाए । 

 

null

प्रधानमन्त्री ओलीले नेपालको व्यवस्था नेपालकै भूमिमा टुसाएर उम्रिएको र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई धन्यवाद समेत दिए । उनले गएको आम निर्वाचनमा जनताले स्थायित्व र विकासका पक्षमा मत दिएको चर्चा गर्दे प्रधानमन्त्री ओलीले अहिले सरकारले त्यसका लागि जग बसाल्ने काम गरेको र त्यसलाई अब अघि बढाउने समेत बताए । आफ्नो मात्रै स्रोत साधनबाट विकास गर्न ढिलो हुने भएकोले बाह्य प्रविधि भित्रयाउनका लागि जोड दिइएको समेत बताए । 

एक वर्षमा के नै भयो भनेर निराशा व्यक्त नगर्न आग्रह गर्दै उनले सरकारलाई प्रश्न सोध्ने तरिका फेर्न आग्रह गरे । यो वर्ष कति बाटो बन्यो, कति कानुन बने पानी जहाज कार्यालय खुल्यो कहिलेबाट सञ्चालन हुन सक्छ ? सामाजिक सुरक्षाको अभियानले जेष्ठ नागरिक स्वास्थ्य बिमाबाट आमा बाबालाई कस्तो फाइदा हुन्छ ? जनतालाई कसरी लाभ हुन्छ ? अन्तर्राष्ट्रिय फोरममा भएको सहभागिताबाट नेपालले के फाइदा पाउन सक्छ भन्ने जस्ता विषयमा प्रश्न सोध्न आग्रह गरे । उनले अबको नेपालको एजेण्डा शान्ति, एकता र विकास भएको समेत बताए । 

प्रश्न सोध्नेलाई व्यवहारबाट जवाफ दिन सरकार तयार रहेको समेत उनले बताए । देश र जनता नै सरकारको प्राथमिकता भएको चर्चा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारीलाई छानबिनको दायरामा ल्याउने काम भइरहेको र राज्यको अनधिकृत दोहनलाई बन्द गर्ने र जालझेल गरेर हडपिएका सरकारी जग्गा फिर्ता गर्दै ल्याइने समेत बताएका छन् । उनले यो वर्ष पृथकतावादको अन्त्य भएको भन्दै प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । उनले कुनैपनि अतिवादलाई स्थान नहुने भन्दै प्रतिगामी गतिविधिका विरुद्धमा पनि कडाइ गरिने जनाएका छन् । 

उनले तीब्र विकासका लागि देशलाई समयको अभाव भएको बताउँदै युएइका प्रधानमन्त्रीको पुस्तकमा भनिए झैं बाँच्नका लागि छिटो दौडिनुपर्ने अवस्थामा नेपाल रहेको समेत जनाए । विकासका लागि नेपाल अफ्रिकी सिँह र हरिणको जस्तै दौडिनुपर्ने अवस्थामा रहेको जनाए । उनले आफूपनि विकासका लागि बिहानदेखि बेलुका सम्म दौडिरहेको बताउँदै एक वर्षको अवधिमा आफू ३१४ वटा कार्यक्रममा सहभागी भएको समेत प्रधानमन्त्रीले बताए । यसअनुसारका परिणाम पनि अहिले देखिन थालेको उनको भनाई थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *