आईपीएल: राजस्थानविरुद्द कोलकाताको सहज जित


काठमाडौं, २५ चैत्र । कोलकाता नाइटराइडर्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सुनिल नारेनको अलराउन्डर प्रदर्शन र क्रिस लिनको धमाकेदार ब्याटिङको मद्दतमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको हो । कोलकाताले पहिले बलिङ गर्दै राजस्थानलाई १३९ रनमा रोक्यो । त्यसपछि जितको लागि आवश्यक रन केबल २ विकेट गुमाएर भेटायो । उसलाई जितको लक्ष्य भेटाउन केबल १३।५ ओभर ब्याटिङ गर्नु पर्यो । आईपीएल १२ औं संस्करणको पाँचौ म्याचमा कोलकाताको चौथो जित हो । त्यस्तै, राजस्थानको पाँचौ म्याचमा चौथो हार हो ।
कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले बलिङ रोजेका थिए । कोलकाताको बलिङले राजस्थानका ब्याटिङलाई सुरुदेखि नै दबावमा राख्यो । राजस्थानका ब्याट्सम्यान कहिले पनि खुलेर खेल्न सकेनन् । राजस्थानले सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा केबल ६७ रन बनाएको थियो । स्टिभन स्मिथले अविजित ७३ रन योगदान गरे । उनले अन्तिम ओभरतिर राम्रो ब्याटिङ गर्दै स्कोर १३९ रनसम्म पुर्याए । जोस बटलरले ३७ रन बनाए । अजिक्य रहाणेले ५ र राहुल त्रिपाठी ६ रन बनाएर आउट भए । बेन स्टोक्स सात रनमा अविजित रहे ।
null
कोलकाताको तर्फबाट हेरी गुर्नेले २ विकेट लिए । आईपीएलमा डेब्यू गरेका उनले २५ रन खर्चिए । एक विकेट प्रसिद्ध कृष्णाले लिए । सुनिल नरेनले विकेट त लिन सकेनन् तर उनले ४ ओभरमा केबल २२ रन खर्चिएर किफायती बलिङ गरे । १४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । ओपनर क्रिस लिन र सुनिल नरेनले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे । क्रिस लिनले ५० र सुनिलले ४७ रन योगदान गरे । त्यसपछि रबिन उथप्पाले १६ बलमा २६ र शुभमन गिल १० बलमा ६ रन बनाएर अविजित रहे ।
