शिक्षक संघको प्रतिनिधिसभाको सम्पूर्ण तयारी पुरा, आज कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं, २७ चैत्र । नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा आजदेखि शुरु हुने भएको छ । मंगलबार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि सभामा पहिलो दिन उद्घाटन् र दोस्रो र तेस्रो दिन बन्दसत्र सञ्चालन हुने संघका अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभामा देशभरका ६ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने छ । नेपाल शिक्षक संघ २०४७ बैशाख ३० गते स्थापना भएसँगै महाधिवेशनको अर्कोवर्ष प्रतिनिधि सभा आयोजना हुँदै आएको छ । 

 

null

प्रतिनिधि सभाले नवनिर्वाचित कार्यसमितिले एवर्षमा गरेका कामकार्बाहीको मूल्यांकन र आगामी वर्षको कार्यनीति तय गर्ने गर्दै आएको छ । बुधबारदेखि शुरु हुने प्रतिनिधि सभामा पनि वर्षभरीको कामको समिक्षा, एक वर्षभित्रका शैक्षिक मुद्दाहरुको छलफल र आगामी संघको दिशाबोध गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । 

विगतका प्रतिनिधि सभामा पेशागत आन्दोलन र अधिकारका पक्षमा छलफल हुने भएपनि यसपटकको सभामा शिक्षकको कर्तव्य र गुणस्तरीय शिक्षाको विकासका बारेमा छलफल र बहस हुने अध्यक्ष पौलेलले बताए । 

१७ थरीका शिक्षक र उनीहरुका विभिन्न आन्दोलन चलिरहेको अवस्थामा संघको प्रतिनिधि सभाले लिने निर्णय महत्वपूर्ण रहने भन्दै संघका अध्यक्ष पौडेलले शिक्षक महासंघ र सरकारबीचको सहमति कार्यान्वयन र संघीय शिक्षा ऐनका विषयमा पनि छलफल हुने जानकारी दिए । 

प्रतिनिधि सभामा यसका अलावा संवैधानिक शिक्षक सेवा आयोग, २० प्रतिशत शिक्षा वजेटको सुनिश्चितता, १७ थरीको शिक्षक अन्त्य, शिक्षा संघ, प्रदेश र स्थानीयतहको साझा सुचीका विषयमा पनि घनीभूत छलफल हुने संघका महासचिव सोमनाथ गिरीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *