नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्ता रिहा

सिन्धुपाल्चोक, १४ चैत । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । 

 

null

त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैयाँ र बाँकी अन्य १३ जनालाई जनही ६ हजार रुपैयाँ धरौटी मागिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । धरौटीमा रिहा हुनेमा चितवनका साजन महतो, सिन्धुपाल्चोक बाह्रबिसे–८ का रेशम पौडेल, रामेछापका हिरा घिसिङ, काभ्रेका संजिव पहरी, काभ्रेकै अजय श्रेष्ठ, नुवाकोटका गणेश थापा रहेका छन् । 

त्यस्तै इलामका सागर राई, कालिकोटका देउराम लोहार, कालिकोटकै नवराज के सी, उदयपुरका शिव वि क, कालिकोटका अनिल विक, मकवानपुरकी कल्पना रुम्बा र मकवानपुरकै चन्द्र बहादुर मोक्तानलाई पनि धरौटीमा छाडिएको छ । कार्कीटारमा एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *