आजका पत्रपत्रिकामा यस्ता छन् मुख्य समाचार

काठमाडौं, ४ चैत । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा आज अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् । त्यस्तै, राजनीति, सुरक्षालगायत विषयलाई पनि पत्रिकाहरुले स्थान दिएका छन् ।
कान्तिपुरले मेडिकल कलेजको अवैध असुलीबारे मुख्य समाचार बनाएको छ । ‘लाखौं ठग्दै मेडिकल कलेज’ शीर्षक समाचारमा सुदीप कैनी लेख्छन्– ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवध रुपमा असुल्ने गरेको पाइएको छ । मेडिकल कलेजले विद्यार्थीबाट मनपरी शुल्क असुलेको भेटिएपछि ती कलेजलाई कारबाही गर्न सिफारिस गरिएको समाचारमा उल्लेख छ ।
null
सामाजिक सञ्जालबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्त गरकेो धारणालाई पनि कान्तिपुरले समेटेको छ । समाचार अनुसार, मन्त्री बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपयोगको थलो मात्र हुन नदिने बताएका छन् । नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने उनले बताए । समाचार अनुसार विधेयक छलफलका लागि आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले दर्ता नभएमा या नेपालविरुद्ध नचाहिने काम गरे बन्द गर्ने बताएका छन् ।
अन्नपूर्णले प्रदेशको नाम र राजधानी अन्योलबारे मुख्य समाचार लेखेको छ । देश संघीयतामा गएको धेरै भए पनि अझै प्रदेश १, २, ३ र ५ को नाम तथा राजधानी टुंगिएको छैन । नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै भारतमा प्रतिबन्धित माछा नेपालमा बिक्री गरिएको अर्को खबर पनि अन्नपूर्णमा छ ।
नागरिकको नजर विश्वविद्यालय अनुदान आयोगभित्रको बेथितिमा परेको छ । नागरिकका अनुसार विश्वविद्यालय अनुदान आयोग आफैंले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले २५ करोड बाँड्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको इसारामा विज्ञान विषय पढाइने २६ क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरिएको नागरिकको समाचारमा लेखिएको छ ।
राजधानीले सडक दूरावस्थाबारे मुख्य समाचार बनाएको छ । कलंकी–नैकाप–सतुंगल–गुर्जुधारा–त्रिभुवन पार्क–नागढुंगा सडकखण्ड चार वर्षदेखि क्षतिग्रस्त अवस्थामा रहे पनि यसको स्तरोन्नतिका लागि सरोकारवालाले चासो नदिएको समाचारको सार छ । प्रहरी इन्काउन्टर अनुसन्धान गर्न विज्ञ टोलीले काम थालेकोदेखि प्रहरीको उच्च निगरानीमा विप्लव समूह परेकोसम्मका खबर राजधानीको पहिलो पृष्ठमा छन् ।








