वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदै

काठमाडौं, १७ चैत्र । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुने जनाएको हो ।
वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
null
त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी वैशाख ५ गते नेपालगञ्ज रंगशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ ।
गएको मंसिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहुँदा पटक पटक सर्दै आएको थियो । राखेपको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रतियोगिता वैशाख ५ देखि गर्ने निर्णय गरेको हो ।








