युरो कप छनोट: सुरुवातमै गोल खाएपछि इङ्ल्यान्डद्वारा गोलको वर्षा

एजेन्सी । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि इङ्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई उसैको मैदानमा ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
इङ्ल्यान्डले पहिलो खेलमा चेक गणतन्त्रलाई ५-० गोलले हराएको थियो । मोन्टेनेग्रोविरुद प्रारम्भमै गोल खाएको इङ्ल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको १७ औं मिनेटमा मोन्टेनेग्रोका लागि मार्को भेसोभिचले गोल गरेका थिए ।
null
त्यसपछि लयमा फर्किएको प्रशिक्षक गारेथ साउथगेटको इङ्ल्यान्डले विपक्षीको पोष्टमा लगातार पाँच गोल गर्यो । खेलको ३० औं मिनेटमा एभर्टनका डिफेन्डर मिचेल केनले इङ्ल्यान्डका लागि पहिलो गोल गरे । ३९ औं मिनेटमा रोस बार्कलीले टोलीलाई २-१ को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा इङ्ल्यान्डले तीन गोल गर्यो । इङ्ल्यान्डका लागि ५९ औं मिनेटमा बार्कलीले नै तेस्रो गोल थपे । ७१ औं मिनेटमा अनुभवी खेलाडी ह्यारी केनले चौथो गोल गरे भने ८१ औं मिनेटमा रहिम स्टर्लिङले खेलको अन्तिम गोल गरे ।
इङ्ल्यान्डले सन् १९८४ को नोभेम्बरपछि पहिलो पटक लगातार दुई खेलमा पाँच वा सोभन्दा बढी गोल गरेको हो । यसैगरी प्रशिक्षक साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको थियो ।
यसैगरी इङ्ल्यान्डले सन् २०१५ को अक्टोबरपछि पहिलो पटक लगातार पाँच खेलमा जित हात पारेको छ । सन् २०१५ को अक्टोबरमा इङ्ल्यान्डले रोय हड्सनको प्रशिक्षकत्वमा लगातार पाँच खेलमा जित हात पारेको थियो ।
यसैगरी प्रशिक्षक साउथगेटको नेतृत्वमा आफुले खेलेका २० खेलमा केनले १७ गोल गरिसकेका छन् । साउथगेटको प्रशिक्षकत्वमा इङ्ल्यान्डका कुनै पनि खेलाडीले गरेको यो सर्वाधिक गोल हो । मोन्टेनेग्रोले भने पछिल्ला ६ मध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ । युरो कप छनोटको पहिलो खेलमा मोन्टेनेग्रोलाई बुल्गेरियाले बराबरीमा रोकेको थियो ।
मोन्टेनेग्रोविरुद्घको खेलमा प्रशिक्षक साउथगेटले हड्सन ओडोईलाई पनि मैदानमा उतारेका थिए । उनी इङ्ल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
मंगलबार मैदानमा ओर्लंदा उनको उमेर १८ वर्ष एक सय ३८ दिन थियो । यसअघि सन् २००३ को अप्रिलमा वेन रोनीले केवल १७ वर्ष एक सय ६० दिनमा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।








