विप्लवलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘बन्दुकको सहाराले सत्ता कब्जा गर्छु भनेर नसोचे हुन्छ’

चैत १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम नियन्त्रण गर्ने दाबी गरेका छन् ।
नेकपाको प्रदेश नम्बर ३ को पहिलो बैठकको उद्घाटन गर्ने क्रममा प्रम ओलीले बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेलाई सरकारले कानूनबमोजिम नियन्त्रणमा लिने दाबी गरेका हुन् ।
null
विप्लव समूहतिर लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘अब कुनै अधिनायकवादको आकाङ्क्षा सम्भव छैन । गणतन्त्रको स्थापना भइ मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढिसक्यो । हत्या र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने कसैले नसोचेपनि हुन्छ । बन्दुकको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् ।’
पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गर्दै उनले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहिन प्रवृत्ति उचित नभएको पनि बताए ।
उनले भने, ‘नेतृत्वले कुनै लाखापाखा गर्दैन । त्यसैले अब कसैले गुटबन्दी गर्नु पर्दैन । गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ । अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ ।’
यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनबारे जानकारी गराउँदै प्रम ओलीले कम्युनिष्ट सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल हुँदैन भनेर टिप्पणी गर्नु देशको हितविरुद्ध भएको स्पष्ट पारे ।








