आगलागीका घटना नियन्त्रणका लागि चितवनमा विशेष संयन्त्र निर्माण गरिने

फागुन २२, चितवन । वन जंगलमा हुने आगलागीका घटना नियन्त्रणका लागि चितवनमा विशेष संयन्त्र निर्माण गरिने भएको छ ।
चितवनमा रहेका सुरक्षाकर्मीहरुलाई लिएर निर्माण गरिएको सञ्जाललाई डँढेलो नियन्त्रण सम्बन्धी प्रशिक्षण तथा फिल्ड अभ्यास समेत गराइने भएको छ ।
null
वन डँढेलो र यसको संवेदनशील क्षेत्र, नियन्त्रण सञ्जाल, फोकल व्यक्ति तोक्ने तथा वन डँढेलो सप्ताह मनाउने सम्बन्धमा भरतपुरमा आयोजना गरिएको बैठकले जिल्लामा रहेका तीन वटै सुरक्षा निकायलाई तालीम प्रदान गर्ने निर्णय गरेको हो ।
डँढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवन, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, कालीबहादुर गण भरतपुरका एक एक जना व्यक्तिलाई फोकल व्यक्ति तोकिएको छ ।
डँढेलोका कारण वर्षेनि ठूलो क्षति हुने गरेको छ । डँढेलोबाट जंगली जनावरलाई सुरक्षित बनाउनका लागि जंगलको बीच भागमा घाँसे मैदान व्यवस्थापनको काम हुँदै आइरहेको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत रामचन्द्र सुवेदीले बताए ।
चितवनमा आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार सात सय ९० हेक्टर वनमा आगलागी भएको सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । साविकको कविलास गाविस र दाहखानी क्षेत्र डढेका लागि बढी संवेदनशीले क्षेत्र भएकाले कार्यालयले यसको नियन्त्रणमा सजगता अपनाएको पौडेलले बताए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वन डढेलो नियन्त्रणका लागि तालीम र गामग्रीलाई जोड्दै सुरक्षाकर्मी परिचालनलाई प्राथमिकता दिनुपर्ने बताए । स्थानीय तहलाई समेत लिएर विपद् व्यवस्थापन सम्बन्धी काम गर्न सकिने बस्नेतले बताए । यसका साथै डढेलोबारे जनचेतना फैलाउनका लागि सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने बस्नेतको भनाइ छ ।
सो कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजन वन अधिकृत विष्णुप्रसाद पौडेलले डँढेलो नियन्त्रणका लागि विभिन्न सामुदायिक वनहरुलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको जानकारी गराए ।
चितवनमा वनलाई डँढेलोबाट जोगाउनका लागि अनावश्यक झाडी हटाउने, वनमा अग्नी रेखा निर्माण गर्ने, वैज्ञानिक वन व्यवस्थापनका कार्यहरु गर्ने जस्ता कामहरु भइरहेका छन् ।








