मन्त्री अधिकारीको यस्तो थियो अन्तिम सम्बोधन

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा गरेको सम्बोधन नै उनको अन्तिम औपचारिक काार्यक्रम बन्न पुगेको छ । उनले कार्यक्रममा हवाई मैदान बनाउनेदेखि देशको समृद्धिबारे बोलेका थिए । उनको सम्बोधनको सम्पादित अंश आजको नागरिक दैनिकले छापेको छः 

पाँचथरमा अहिले हामी एअरर्पोटको सन्दर्भ चलाउन हैन बनाउन आएका छौं । मेरो साथमा चुहाननडाँडा एयरपोर्टको नक्सा, स्टिमेट सबै छ । पहिला एअरपोर्ट बनाउन २९ करोड भने पनि अहिले हाम्रो ८७ करोड खर्च हुने स्टिमेट छ । म यति बेला दुईवटा सन्र्दभमात्र बताउन चाहन्छु । एउटा वर्तमान सरकार बनिसकेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ । हामी त्यो मन्त्रिमण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौं । यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले मात्र होइन, यो ठाउँ यस क्षेत्रका लागि उपयुक्त भएकाले पनि हामीले यहाँ एअरपोर्ट बनाउने सन्दर्भमा छलफल ग-यौं । 

सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाइ भन्नु भो– त्यसको सन्दर्भमा के कस्तो लाग्छ ? त्यसको सबै डिटेल अध्ययन गर्नुस् । अघिल्लो अध्ययनका अधारमा हामीले फेरि अध्ययन ग-यौं । अध्ययन गर्दा खेरी आज हामी नक्सा र सबैसहित एउटा अध्ययन पूरा गरिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूले अरु होइन पर्यटनमन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुहोस् भन्नुभयो । त्यसपछि आज हामी यो ठाउँको स्थलगत अध्ययनको लागी आएका छौं । यहाँ एअरपोर्ट बनाउन उपयुक्त छ । 

null

किनभने यहाँ केहीले छेक्दैन । सबै हिसाबले यो उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौं । यस अर्थमा म तपाईंहरुलाई भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहन्छु । र सरकार यो ठाउँमा एअरपोर्ट बनाउन प्रतिबद्ध छ । त्यस कारण हामी यसलाई अगाडि बढाउन तपाईंहरु माझ आएका छौं । तपाईंहरुको साथ छ, सबै मिलेर हामी यो कामलाई अघि बढाउने छौं । 

दोसो कुरा पानी परेको छ । मौसम खराब भएको छ । हामी काठमाडौं फर्कनुपर्ने छ । सरकार अहिले आफ्ना काम अगाडि बढाइरहेको छ । तर सधैं अस्थिरताले फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि जान नदिनेहरु आत्तिएका छन् । केही भएन, केही भएन भन्दै कराइरहेका छन् । तर म भन्न चाहन्छु, वर्तमान सरकार निर्माण भएपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य कामहरु भएका छन् । 

स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको समन्वय, तीनवटै सरकारको सञ्चालन, तीनवटै सरकारको संगठनात्मक व्यवस्थापन, तीनवटै सरकारको कानुनी व्यवस्थाहरु सबै हामीले बनाएका छौं । तीनवटै सरकारले राष्ट्र र जनताको काम गरिरहेका छन् । परिणमहरु देखिइरहेका छन् । अझै हामी प्रभावकारी ढंगले काम गर्नुपर्ने छ । सरकारले काम गरिरहेको छ । काम भएको छैन, केही भएको छैन भनेर अफवाह मात्र फैलाउने खोजिएको छ । 

म भन्न चाहन्छु, यो ठाउँमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी ढंगले अघि बढिरहेको छ । हामी यहाँ एअरपोर्ट बनाउँदै छौं । देशभरिका एअरपोर्टलाइ सुधार गर्दैछौं । अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण गरिरहेका छौं । पूर्वाधार निर्माण, जल विद्युत् विकास, रोजगारी, आर्थिक विकास, आर्थिक वृद्धिदर, उत्पादन बढाउने जस्ता सबै क्षेत्रमा काम बढेकोे छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम बढेको छ । यस हिसाबले स्थानीय सरकारले पनि प्रभावकारी ढंगले काम गरिरहेको छ । प्रदेश सरकारले गरेको छ, संघीय सरकारले गरेको छ । अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैको गफले रोक्न सक्दैन । कसैको अवरोधले रोक्न सक्दैन । यो दिशामा हामी अगाढि बढ्छौं । यो सरकारको सन्देश हो, यो सरकारको प्रतिवद्धता हो । 

म यति कुरा तपाईंहरुसँग राख्न चाहन्छु । यहाँ आउँदा तपाईंहरुले स्वागत गर्नुभयो । यसका लागि म धन्यावाद दिन चाहन्छु । तपाईंहरुले चासो व्यक्त गर्नुभएको छ । त्यसमा म एकदमै धन्यवाद दिन चाहन्छु । र, अन्तिममा अब हामी के गर्छौं भने आजको अध्ययन पछाडिको प्रक्रिया बताउँछु । तपाईंहरुले फलोअप गर्नु होला । अब वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्दछ । जुन रिपोर्ट बनेको छ । अब वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अगाडि बढाउनु पर्छ । 

एक साताभित्र हामी यो प्रक्रिया अगाडि बढाउँछौं । त्यसपछि ठाउँ कति लिने हो त्यसको सबै मूल्यांकन गरेर जग्गा अधिग्रहण गर्ने प्रक्रियामा हामी जान्छौं । जग्गा अधिग्रण गर्ने प्रक्रियामा चाहिँ यहाँको जिल्ला प्रशासनले त सहयोग गर्ने नै छ, गाउँपालिका र तपाईंहरु सबै साथीले सहयोग गर्नु हुनेछ । हामीले यहाँको जग्गा अधिग्रहण गर्दा जति मूल्य पर्ने हो त्योभन्दा कम दिँदैनौं । जति मूल्य पर्ने हो त्यति दिन्छौं । बढी पनि दिँदैनौं । कति मूल्य पर्ने हो त्यो भन्दा कम दिँदैनौं र बढी पनि दिँदैनौं । जग्गा सरकारले किन्छ र त्यो पैसाले तपाईंहरुलाई अन्य व्यवस्थापन गर्नुपर्छ । अनि हामी यहाँ एअरपोर्ट बनाउने सुरु गर्छौं । जब वातावरणीय प्रभाव मूल्यांकन अनि जग्गा अधिग्रहण गर्ने काम सुरु भइसकेपछि डिटेल डिपिआरको आधारमा कन्ट्याक प्रक्रियामा जान्छौं होइन त धु्रवजी (मञ्चमा रहेका इन्जिनियरलाई सोध्दै) । मैले त भाषण गर्ने हो काम गर्ने साथीहरु यहाँ छन् । उहाँहरुलाई साक्षी राखेर अगाडि बढ्ने हो । 

त्यसपछाडि ठेक्का पक्रियामा जान्छौं । प्राविधिकले तीन वर्ष लाग्छ भन्नु भाको छ । म दुई वर्षमा काम सक्नुपर्छ भन्ने पक्षमा छु । जे होस् दुईदेखि तीन वर्षका बीचमा यहाँको काम सम्पन्न गर्छौ । म तपाईहरुलाई बताउन चाहन्छु । अहिले हामीले देशभरमा ३४ वटा विमानस्थला सञ्चालनमा ल्यायौं । एअरपोर्टहरु बन्द भएका थिए । पूर्वतिरका पनि बन्द थिए । चाहे भोजपुरको भन्नुस् । अहिले हामी देशभरका एअरपोर्ट सञ्चालमा ल्याएका छौं । यो एअरपोर्ट पनि निर्माणपछि सञ्चालनमा आउने छ । यहाँबाट विराटनगर, काठमाडौंको बाटो हुनेगरी सञ्चालन गर्नेछौं । सरकारको तर्फबाट यही प्रतिबद्धता व्यक्त गदर्छु । ढुक्क हुनुहोस् । तपाईंहरु यहाँको व्यवस्थापनमा सहयोग गर्नुस् भन्दै म बिदा हुन चाहन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =