आजदेखि लगानी सम्मेलन, ४० देशका ६ सय लगानीकर्ता सहभागी हुँदै

काठमाडौं । सरकारले विभिन्न परियोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि लगानी सम्मेलनको आयोजना गरेको छ । सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरेको सम्मेलनमा सहभागी हुन ४० देशका पाहुना काठमाडौं आइपुगेका छन् । 

केही पाहुना भने अहिले बिहानसम्म आइपुग्ने लगानी बोर्डले जनाएको छ । सम्मेलन आयोजना हुने होटल सोल्टीमा समेत आवश्यक तयारी पूरा भएको छ ।   

सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बोर्डका कर्मचारी खटिएका छन् । विमानस्थलमा सहजरुपमा प्रवेशाज्ञा, मोबाइलको सिमकार्ड तथा सम्बन्धित होटलमा पुर्‍याउने व्यवस्था गरिएको छ । 

null

 सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको राससले आफ्नो समाचारमा उल्लेख गरेको छ ।  

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

स्वदेशी लगानीकर्ता पनि सहभागी हुनेछन् । सम्मेलनमा सातवटै प्रदेशका तर्फबाट पनि थप केही योजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।  अहिले बिहान ९ बजे उद्घाटन सत्रको कार्यक्रम हुनेछ । सो सत्रलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा, सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतले सम्बोधन गर्नेछन् । 

यस्तै शुक्रबार नै नेपालमा लगानीको अवसर विषय छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।  

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।  

सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्चपदस्थ व्यक्तिको सहभागिता रहनेछ ।  सरकारको सङ्कल्पका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण अवसर भएको स्पष्ट पारेको छ ।  

सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन् ।  मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची तयार गरिएको छ ।  

विसं २०४६ को परिवर्तनपछि बनेको सरकारले विसं २०४८ मा लगानी सम्मेलनको आयोजना गरेको थियो । यस्तै दुई वर्ष पहिले २०७३ सालमा पनि लगानी सम्मेलनको आयोजना गरिएको थियो ।  

विदेशी लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्यका साथ सङ्घीय संसद्ले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित गरिसकेको छ ।  

यस्तै विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई समेत सङ्घीय संसद्ले पारित गरिसकेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *