यस्ता छन्, आजका पत्रपत्रिकाका समाचार

आज फागुन १८ गते शनिबार । आज राजधानीबाट प्रकाशित हुने अधिकांश दैनिक पत्रपत्रिकाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्ठीको समाचारलाई समेटेका छन् । राजधानीका ब्रोडसिट दैनिकहरु कान्तिपुर, नागरिक, अन्नपुर्ण पोस्ट, नयाँ पत्रिका लगायतले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीका सन्दर्भमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छन् ।
कान्तिपुर दैनिकको मुख्य पृष्ठको माथि पोखरा रामघाटमा गरिएको अधिकारीको अन्त्यष्टिको तस्वीर प्रकाशित गरेको छ । त्यसपछि शुक्रबार राती दार्चुलामा भएको जीप दुर्घटनाको समाचार राखेको छ ।
यस्तै अन्नपुर्ण पोस्टले भने मन्त्री अधिकारीकै विषयलाई उठान गरेको छ । वाइडबडी प्रकरणमा दिवंगत रवीन्द्र अधिकारी जोडिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा दिएको प्रष्टीकरणलाई अन्नपूर्णले समेटेको छ । वाइडबडी खरिद प्रकरणमा भएको अनियमततामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा बैठकमा ओलीले सरोकार नभएको विषय वाइडबडीमा जोडेर केही तत्वले बदनाम गर्न खोजेको प्रधानमन्त्रीको भनाईलाई अन्नपुर्णले अग्र पृष्ठमा प्रकाशित गरेको छ ।
null
यस्तै नागरिक दैनिकले लापरबाहीका कारण हेलिकप्टर दुर्घटना भएको निष्कर्ष निकाल्दै स्वदेशी तथा विदेशी भीआईपीहरुको उडान स्थगित गरिएको दृष्टान्त प्रस्तुत गरेको छ । नागरिकले पछिल्लोपटक सावधानी नअपनाउँदा भिआइपी सवार हेलिकप्टर दुर्घटना भएको बताएको छ ।
सरकारी सञ्चार माध्यम गोरखापत्रले पनि मन्त्री अधिकारीको अन्त्येष्ठि भन्ने शिर्षक दिएर पहिलो पृष्ठमा मुख्य समाचार बनाएको छ । गोरखापत्रले टुँडिखेलमा दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको तस्विर प्रकाशित गरेको छ । नयाँ पत्रिकाले भने आज सिंहदरबारको पुर्ननिर्माणको समाचारलाई प्राथमिकतामा राखेको छ । सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ । शुरोजंग पाण्डेको रिपोर्ट नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ ।
राजधानी दैनिकले सार्वजनिक जग्गा अतिक्रमण भएको विषय उठाएको छ । कर्नरमा रवीन्द्र अधिकारीको अन्त्येष्ठिको समाचारले पनि स्थान पाएको छ ।








