कम्युनिष्ट सरकारलाई घाँडो बन्दै लेनिन

 

चैत ७, काठमाडौँ । बुबा नेकपा एमालेको गाउँका नेता । उनको पहिलेदेखि नै कम्युनिष्ट प्रति झुकाव र लगाव थियो । बहुदलको आन्दोलन र त्यसपछि गाउँमा राजनीतिक गतिविधि बढ्दै गए । कम्युनिष्ट नेताहरु उनका मार्गदर्शक नै भए, मन नपराउने कुरै भएन । 

कम्युनिष्टका अगुवाहरु उनलाई यतिसम्म मन पर्यो कि छोराको नाम नै त्यहि राखिदिए । जेठाको लेनिन र कान्छाको मदन । तर बुबाले के बुझेर यो नाम राखिदिए, लेनिनलाई पनि थाहा थिएन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ को यो परिवार नै कम्युनिष्ट भएपछि लेनिनको पनि त्यतैतिर हिमचिम हुने नै भयो । 

null

कक्षा ८ पढ्दै गरेका लेनिन २०५९ सालमा मावली घर मकवानपुरको हटिया गए । त्यतिबेला देशमा माओवादीको युद्ध चर्किरहेको थियो । खासगरी गाउँहरु रात परेपछि माओवादीकै कब्जामा हुन्थे । 

लेनिन गएको बेला पनि मावली गाउँमा माओवादी छापामारहरुले सांस्कृतिक कार्यक्रम गरिरहेका थिए । ठिटौले लेनिनको मन त्यही नाँचगानले तान्यो । नाँचगानमा घन्किएका क्रान्तिकारी गीतले उनको मनमा पनि कम्पन गरायो । 

त्यही क्रममा टाउकोमा रातो फेटा बाँधेकाहरुले भने, ‘तपाईं पनि हामीसँगै हिँड्नुस् । लेनिनलाई लाग्यो माओवादी त साँच्चै रमाइलो हुँदोरहेछ । उनका आँखाले देखेका थिए पनि त्यहि । रमाइलो गर्ने मुडमा रहेका लेनिनले देश परिवर्तन गर्न होमिएको पार्टी पछ्याउन थाले । त्यहाँबाट उनीहरुको टोली छतिवनतिर मुभ भयो । छतिवनमा हतियारसहितका लालसेनाहरु भेटिए । लेनिनलाई लाग्यो साँच्चै राम्रो बाटो समातिएछ । 

पार्टीमा लागिसकेपछि उनको नाम थपियो । पार्टीले कौशल राखिदियो । लेनिनलाई सबैले कौशल भनेर बोलाउन थाले । उनलाई पनि थाहा थिएन, लेनिन भनेको के हो । अनि किन राखियो कौशल ? 

सबैका अर्कै नाम हुँदा रहेछन् पार्टीमा, त्यही नियममा बाँधिए, लेनिन । फेरि उनलाई लेनिनको अर्थ पनि थाहा थिएन, लाग्थ्यो यो आफ्नै नाम मात्रै हो । त्यतिबेला पार्टीभित्र कौशल भनेरै बोलाउँथे । लेनिनले सुराकी गर्नुपथ्र्यो । उनी सानो भएकै कारण त्यो जिम्मेवारी पाएका थिए, हतपत अरुले माओवादीको अड्कल लाउन नसक्ने भएका कारण । 

दिनभरि गाउँ सरकारका नेताहरुसँग डुल्थे, कहिलेकाहिँ राति पनि । उनको काम नै बजार डुल्ने, हल्लाहरु बटुल्ने र सुनाउने थियो । चौकीको आसपासका गाउँहरुमा घुम्नुपथ्र्यो । अनि, प्रहरीको टोली कता जाँदै छ पार्टीलाई खबर गर्नुपथ्र्यो । 

 

स्थानीय नेताहरुका गतिविधि पनि यहि टिमबाट पुग्थ्यो पार्टीमा । उनीहरु दिन मात्रै होइन राति पनि काम गर्थे । राति–राति पार्टीका पोष्टरहरु टाँस्नु पथ्र्यो । गाउँमा सुराकीको रुपमा मात्रै डुलेनन् लेनिन । पार्टीको लाइन अनुसारका जन कारबाही पनि चलाउँथे । त्यतिबेला फुच्चे भएपनि माओवादी भनेपछि उनलाई कसले छुने र ? 

राज्यको सुरक्षा निकायबाट साना लेनिन्लाई ठूलो खतरा पनि थिएन । बरु माओवादी भएको कारण नभइ नामकै कारण दुःख पाए लेनिनले । २०६० सालमा पार्टीका कागजात पुर्याउन नेताहरुले लेनिनलाई हेटौंडाबाट काठमाडौँ पठाएका थिए । काठमाडौँमा कागजात बुझाएर फर्किंदा बाटोमा नेपाली सेनाले भेट्यो । उनी सुरुमै परे फन्दामा । 

तेतिबेला सेनाले सोधे, ‘भाइ तिम्रो नाम के हो ?’ लेनिन विष्ट, उनको उत्तर थियो । ‘यसलाई लग यो माओवादी रहेछ’ नाम भन्नासाथ उनलाई सेनाले समात्यो । 

तर लेनिनले थाहा पाएनन् आफूलाई किन पक्राउ गरिएको हो भन्ने । बरु उनलाई निक्कै डर लाग्यो, माओवादी भएकै कारण थाहा पाएर समाते, अब मारिदिन्छन् भनेर । 

सेना–पुलिसले पक्रिहाल्यो भने के भन्ने, के नभन्ने भनेर पार्टीमा राम्रै स्कुलिङ हुन्थ्यो । सेनाले सोधखोज गरे । लेनिनले साँचो कुरा ढाके । पार्टीका गोप्य कुराहरु खोलेनन् । सेनाले सानो केटो देखेर होला, ६ घण्टाजति नियन्त्रणमा राखेपछि छोडिदिए । 

यसैगरी बित्दै थियो लेनिनको दैनिकि । क्रान्ति सफल हुनै नपाई पार्टीको बाटो मोडियो । माओवादीले १२ बुँदे शान्ति सम्झौता गर्यो । अरु पार्टीसँगै मिसिए लेनिनको पार्टीका नेताहरु पनि । त्यसपछि संयुक्त आन्दोलन हुन थाल्यो । 

लेनिनहरु अब राजधानी नजिकै लालसेनाको ब्यारेक खडा गर्न कामीडाँडा गए । तर त्यहाँ त्यति उत्तम ठानेनन् कमाण्डरहरुले । चितवनबाट खबर आयो, ‘त्यहाँ जंगलमा राम्रो ठाउँ छ रे’ । त्यसपछि शक्तिखोरको जंगल फाँड्न टोली पुग्यो । शक्तिखोर लालसेनाको हेडक्वाटर नै बन्यो । कम्रेडहरुसँगै लेनिन पनि त्यहीँ बसे, कालिबहादुर खाँडको नेतृत्वमा । 

कमाण्डरहरु भन्थे, ‘अब हामी राष्ट्रिय सेना बन्छौं । तर अहिले जे–जे भएपनि हाम्रो पार्टीले सत्ता कब्जा गर्छ । त्यसपछि देखा जाएगा ।’ पार्टीमा यस्तै खरा कुरा हुन्थे । उनलाई छुटेको पढाइको पनि मतलब थिएन । यस्ता बुर्जुवा शिक्षा किन चाहियो ? भन्ने आवाज शसक्त थियो । 

५ कक्षा पढेर क्रान्तिमा होमिएका लेनिनले ब्यारेक छिरेपछि पढाइ त चाहिने रहेछ क्यारे भनेर कमाण्डरहरुलाई सुनाए । ‘दुवै हातमा लड्डु हुँदैन । कि पढाई छाड्, नत्र पार्टी छाडेर पढ्’ भने पनि उनले दुवै छोड्न सकेनन् । कक्षा ८ मा भर्ना भएका लेनिनले शक्तिखोरमै पढेर बिदामा आएर परीक्षा दिए । 

तर पछि एसएलसीको परीक्षा दिने बेलामा पनि ब्यारेकमा लफडा भयो । ब्यारेकका कमाण्डरहरुले ‘पढ्नु पर्दैन’ भनेर पेल्थे । त्यहि लफडाका कारण असारमा फर्म भर्न पाएनन् लेनिनले । तत्कालिन शिक्षामन्त्री रेणु यादवले उनीहरुकै लागि भनेर मंसिरमा फर्म खुलाउने निर्णय गरिदिइन् । अनि, एसएलसी परीक्षा दिए उनले । 

पार्टी शान्ति प्रक्रियामा आइसकेपछि ब्यारेकमा लालसेनाहरुको एक चरणको गणना सकिएको थियो । लिस्टमा लेनिन विष्टको पनि नाम पर्यो । अनमिनले छानविन गरेर पठाएको लिस्टमा भने लेनिन अटाएनन् । पछि कमाण्डरहरुले पाएको लिस्टमा उनको नाम नभएको बुझियो । लेनिन १८ वर्षको नभएका कारण सेनामा जान पाएनन् । उनीसँगै गएका साथीहरु परेट खेल्न थाले राष्ट्रिय सेनाका लागि । उनीहरुसँग बाटो छुट्टियो । उनलाई दुःख त त्यतिबेला लाग्यो, जुनदिन कमाण्डरहरुले राष्ट्रिय सेनामा जान नपाउने कुरा सुनाए । पछुतो पनि भयो, ‘ के का क्रान्ति ? जिन्दगी नै पो बरबाद पारिएछ’ भनेर । नयाँ नेपाल बनाउने अभियान भनिएको थियो, अनि लेनिनहरुलाई पनि राष्ट्रिय सेना बनाउने भनिएको थियो । तर दुवै भएन । 

ब्यारेककै लालसेनाहरुले भन्न थाले, ‘अब तीन महिनाको तलब बुझ्ने अनि पार्टीलाई लेबी तिरेर घर फर्किने । ब्यारेकमा बस्दाको मासिक ५ हजारका दरले तीन महिनाको तलब पाउनु थियो । पहिले तीन हजारका दरले तलब बुझ्ने जनमुक्ति सेनाको तलब ५ हजार पुर्याएका थिए बाबुराम भट्टराईले, आफू प्रधानमन्त्री हुँदा । 

पार्टीलाई मासिक एक हजार रुपैयाँ लेबी तिर्नुपथ्र्यो । गाडीभाडा बापत १० हजार रुपैयाँ, लेबि तिरेर बचेको १२ हजार र एउटा झोला हात लाग्यो क्रान्ति सेकर फर्किने बेलामा । ‘के यतिका वर्षको क्रान्ति यसैका लागि थियो त ?’ लेनिनले सोचे । अनि, आफैँ उत्तर पनि निकाले, ‘हैन हामीलाई पार्टीले अन्याय गर्दैछ । कोही मान्छेलाई योग्य र अयोग्य भन्ने अधिकारी यिनीहरुलाई छैन ।’ 

त्यसपछि ५–६ जना भेला भएर पत्रकार सम्मेलन गरे, र भने, ‘पार्टीले हामीलाई अयोग्य भन्यो । अब हामी बिद्रोह गर्छौं’ अयोग्य लडाकुहरुको यस्तो चेतावनीपछि तत्कालीन शान्तीमन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा शक्तिखोर ब्यारेकमा पुगे । 

उनीहरुलाई भेला गरेर आश्वासन दिए, ‘तिमीहरुलाई एउटा गेटबाट निकालेर अर्को गेटबाट छिराउने हो, राष्ट्रिय सेना त बनाएरै छाड्ने हो, अहिले हल्ला नगर ।’ कमाण्डरले भनेपछि मार्न र मर्न पनि पछि नपरेका लेनिनहरुले विश्वास गरे । ‘हाम्रो पार्टी त सहि लाइन मै रहेछ । कहाँको यो अनमिन आएर पो बिगार्न खाजेको रहेछ’, यहि छाप प¥यो उनीहरुमा । त्यसपछि उनीहरुको आक्रोस अनमिनतिर सोझियो । अनमिनका गाडी घेरेर तोडफोडको प्रयास गरे । तर केहि दिनमा आन्दोलन मत्थर भयो । 

लेनिन जस्तै उमेर नपुगेका २ हजार ९ सय २५ जना बाल सेना ब्यारेकबाट निकालिए । शान्ति प्रक्रियापछि ब्यारेक छिरेका १ हजार ८३ जना पनि राष्ट्रिय सेनामा जाने लिस्टमा अटाएनन् । लिस्टमा नअटाएकाहरुलाई व्यवसायिक बनाउन युएनले तालिम दिने भयो । उनीहरुको तनमन तालिममा थिएन । नाम लेखाए पनि धेरैले तालिम नै लिएनन् । उनीहरुलाई राष्ट्रिय सेना बन्नु थियो । 

तर अनमिनले अयोग्य भनेपछि पार्टीको पनि केहि चलेन । अयोग्य भनेर ब्यारेकबाट धपाइएकाहरुले २०६७ सालमा भेला गरे काठमाडौँमा । अयोग्यहरुकै संगठन बनाउने सल्लाह पनि भयो । केन्द्रीकृत विद्रोह गर्ने भेलाले निर्णय ग¥यो । त्यो बिद्रोह फेरि पेरिसडाँडातिरै फर्कियो । 

त्यतिबेला अध्यक्ष पसुष्पकमल दाहाल प्रचण्ड सुप्रिम कमाण्डर आफैं उपस्थित भएर भने, ‘हाम्रो क्रान्ति अझै सफल भएको छैन, तपाईंहरुको सहयोग आवश्यक छ । घर फर्किदिनुस्, पार्टीले गाडीभाडा र बाटो खर्च दिन्छ । 

‘खर्च महासचिवले दिने’ भनेका थिए प्रचण्डले । त्यतिबेला पार्टीको महासचिव अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए । २०६८ सालको असारतिरको कुरा हो । महासचिव रामबहादुर थापा नआएपछि उनीहरुनै गए उनलाई भेट्न । 

गएर अध्यक्षले भनेको कुरा सुनाए, खर्चको कुरा । महासचिव बादलले झोक्किँदै भने, ‘के को पैसा ? छैन पैसा । कट्टु बेचेर बाटो लाग् ।’ त्यसपछि झनै उग्र बने लेनिनहरु, र बादल पैसा दिन बाध्य भए । आन्दोलनमा आएका लडाकुहरुको सूची तयार भयो । उनीहरु घर ठेगानासहितको भौचरमा सहि गर्दै पैसा बुझे र घर फर्किए । 

घर फर्किएको दुई महिनासम्म पनि पार्टीले माग सम्बोधन गरेन । लेनिनहरुले अब फुलटाइम आन्दोलन गर्ने निर्णय गरे । आन्दोलनकै लागि लेनिनले पार्टीको मजदुर संगठन छाडे । 

अयोग्य भनिएका लडाकुहरुले बारम्बार आन्दोलन गर्न थालेपछि राज्यले देशको सुरक्षामा सबैभन्दा खतरा उनीहरुबाटै रहेको बताएको थियो । त्यसपछि अयोग्य भनिएका लडाकुले पेरिसडाँडा घेरे ५७ दिनसम्म । सरकारसँग लिखित सम्झौता भयो, तत्काल दुई–दुई लाख रुपैयाँ दिने र घाइतेको उपचार गर्ने । 

लेनिनसहित किरण दंगाल, सोमलाल घलान र तुलसी नेपाल लगायतलाई माओवादीले खराब सूचीमा राख्यो । जब सेना समायोजनको कुरा उठ्न थाल्थ्यो, उनीहरु जम्मा भएर ब्यारेक घेर्न थालिहाल्थे । त्यतिबेला पनि पार्टीले र सरकारमा भएका आफ्नै नेताहरुले पहिले अयोग्यको कुरा मिलाएर मात्रै सेना समायोजनको आश्वासन दिएर फर्काए । उनीहरुलाई त्यसरी फर्काएको बेलुका ब्यारेकमा सेना पस्यो, समायोजनको प्रक्रिया थाल्न । ब्यारेकमा सेना पसेपछि भने उनीहरुले ब्यारेक घेर्न छाडे र पेरिसडाँडामै केन्द्रीत भयो उनीहरुको आन्दोलन । 

बाबुराम भट्टराईले अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँका दरले दिने भनेको पैसा पनि रोकिदियो अदालतले । उनीहरु भने निरन्तर केन्द्रीय कार्यालय पेरिसडाँडा केन्द्रीत आन्दोलन गर्न थाले । त्यसपछि पनि भएन । नन्दकिशोर पुन र चक्रपाणी खनालको निवास घेर्न गयो लडाकुको टोली । तर प्रहरीले त्यहाँबाट पनि लखेट्यो । 

उनीहरुलाई पहिले माग पूरा गर्ने आश्वासन दिने नेताहरुले पनि पार्टीको बदनाम गरेको आरोप लगाए । कसैले ‘अन्तैबाट परिचालित पनि भयो’ पनि भने । शान्तिमन्त्री त्यतिबेला टोपबहादुर रायमाझी थिए । उनले अयोग्य लडाकुलाई १४ लाख रुपैयाँ दिने निर्णय गरेका थिए । तर पार्टीका नेताहरुले त्यो पैसामा पनि आँखा लगाए । ५ लाख रुपैयाँ मागेका थिए, पार्टीकै नेताहरुले । नदिएपछि धम्क्याए पनि । 

हुन त अहिले लेनिनलाई त्यो पैसा हिनामिना गरेको आरोप फेरि लागेको छ । यो केस अदालतमा पुगेर सफाइ पाएका थिए पहिला । भयो के भने निरन्तर पार्टी कार्यालय घेरेपछि उनलाई पहिले पक्राउ गरिएको थियो । २०६९ सालको माघ १० गते । नेताहरुको निवास घेरेपछि गाडी चोरेको आरोप लगाएर पक्रियो प्रहरीले । लेनिनले भने यो आरोप स्वीकारेनन् । 

पछि पार्टीकै एक नेताले उनलाई ५ लाख रुपैयाँ लगेको आरोप लगाएर मुद्दा गर्यो । प्रमाण नजुटेपछि त्यो मुद्दा पनि प्रहरीले अगाडि बढाएन । लेनिनलाई सार्वजनिक केस चलायो । 

काठमाडौँको प्रमुख जिल्ला अधिकारी त्यतिबेला चुडामणी शर्मा थिए, लेनिनको मुद्दा दर्ता गर्न मानेका थिएनन् उनले । अदालतले २८ हजार रुपैयाँ धरौटी मागेर छाड्न आदेश दियो । धरौटी बुझाएपछि पनि लेनिनलाई प्रहरीले छोडेन । कल वाइपासको मुद्दा भक्तपुरबाट चलायो । यो मुद्दामा अदालतले एक करोड धरौटी माग्यो । धरौटी बुझाउन नसकेपछि लेनिनलाई डिल्लीबजार कारगारमा राखियो । 

ठिक एक वर्षपछि उनलाई अदालतले सफाइ दियो । २०७० सालको माघ १० गते जेलबाट छुटे लेनिन । जेलबाट निस्किएपछि पत्रकार सम्मेलन गरेर आफूलाई फसाइएको भन्दै यी कुराहरु सार्वजानिक गरे लेनिनले । २०७३ सालको कात्तिक २१ र २२ गते फेरि पेरिसडाँडामा ताला लाग्यो । 

निरन्तर पार्टी केन्द्रीय कार्यालयमा ताला लगाउँदा पनि माओवादीलाई बाल सेना प्रयोग गरेको डर थियो । बाल सेना प्रयोग गर्दा युद्ध अपराध ठहरिन्छ । अनमिनले पनि बाल सेना प्रयोग भएको प्रमाणित गरिसकेको थियो । 

बाबुराम प्रधानमन्त्री हुँदा दिने भनेको दुई लाख रुपैयाँ पनि अदालतबाट रोकिएपछि उनीहरुमा नैराश्यता छायो । त्यसपछि तितर–वितर हुन थाले अयोग्य भनिएका लडाकुहरु । 

कोही वैद्य नेतृत्वको पार्टीमा लागे । कोही विप्लव नेतृत्वको पार्टीमा त कोही नयाँशक्तितिर लागे । तर लेनिनले यी कुनै पनि लाइन समातेनन् । बाल सैनिककै विषयमा कुरा उठाउन थाले । अहिले पनि बाल सेनालाई जसरी पनि सम्बोधन गर्नुपर्ने उनको माग कायमै छ । 

यहि क्रममा गत भदौ ८ गते थाइल्याण्ड जान लागेका थिए उनी । बाल सैनिक लेनिन विष्टलाई विदेश भ्रमणबाट पनि रोकियो । उनलाई रोकेको विषयमा अन्तराष्ट्रिय मानवअधिकार र नेपालभित्रै चर्को आलोचना भइरहेको छ । ‘द्वन्द्व क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ती स्थापना’ विषयक कार्यशालमा सहभागी हुन जान लागेका लेनिन । तर रोकिए । 

यसले कम्युनिष्ट सरकारमा पनि हलचल ल्यायो । यही विषयमा प्रधानमन्त्रीले गृहमन्त्री रामबहादृुर थापालाई २४ घण्टे स्पष्टिकरण मागे । अहिले मन्त्री परिवर्तनको समेत कुरा चल्न थालेको छ । लेनिनले अदालत र मानवअधिकार आयोगमा पनि उजुरी दिएका छन् । 

उजुरीको टुंगो लागिसकेको छैन । लेनिन भन्छन्, ‘राजतन्त्रमा पनि धेरै भोगियो, देखियो । त्यही भनेर पार्टीले क्रान्ति गरेको थियो । लोकतन्त्रमा यस्तो होला भन्ने थिएन । हामी नेताहरुलाई बनाउन मात्रै लागेका थिएनौं ।’ पार्टी र सरकारप्रति लेनिनको चर्को असन्तुष्टि छ । तर उनीप्रति पनि पार्टीको असन्तुष्टि छ । 

उमेर नपुगेर सेनाको सिपाही हुन नपाएका आफ्नै कार्यकर्ता लेनिन, आज कम्युनिष्ट सरकारका लागि घाँडो बनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *