चितवनमा सार्वजनिक सवारीसाधनको मनपरी, प्रभावकारी अनुगमन नहुँदा यात्रु ठगिँदै

 

फागुन २०, चितवन । चितवनको भरतपुर महानगरपालिकामा सञ्चालित केही सार्वजनिक सवारी साधनहरुले मनपरी रूपमा भाडा असुल्दै आएका छन् । 

यात्रुहरुको चापको फाईदा उठाउँदै यहाँका व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय चितवनले तोकेभन्दा बढी गाडी भाडा लिने गरेका हुन् । विशेषगरी गौरीगञ्ज हुँदै नारायणगढ र क्यान्सर अस्पताल हुँदै नारायणगढसम्म आउने म्याजिक र सिटी बसले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । 

null

निजी सवारीसाधन नभएकाहरुले सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्ने हुन्छ । तर, सार्वजनिक सवारीसाधनले राज्यले तोकेको भन्दा बढी भाडा लिने गरेका छन् । 

शहरी क्षेत्रका सम्बन्धमा सबै किसिमका यात्रुबाहक सवारीसाधनको न्यूनतम भाडादर १४ रुपैयाँ तोकिएको छ । ० देखि ४ किलोमिटरसम्म १४ रुपैयाँ ० देखि ५ किलोमिटरको १६ रुपैयाँ, र प्रत्येक किलोमिटर थपिदै जाँदा दुई रुपैयाँ बढ्दै जाने र शहरी क्षेत्रमा १९ किलोमिटर भन्दा माथिको २९ रुपैयाँसम्म भाडा लिन पाउने व्यवस्था यातायात विभागले गरेको छ । तर, पनि नियम उल्लंघन गर्दै यहाँका यातायात व्यवसायीले आफु खुशी भाडा लिने गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयले केन्द्रिय बसपार्कदेखि गितानगरसम्म २४, पटिहानीसम्म ३६, जगतपुरसम्म ४१ कसरा चोकसम्म ४५, पदमपुरको १७, जुटपानी २२ रुपैयाँ तोकेको छ । ‘जिल्ला प्रशासन कार्यालयले तोके अनुसार भाडा लिने हो भने हामीलाई घाटा हुन्छ,’ ना १ ज ६९५२ नम्वरका म्याजिक चालकले भने, ‘हामीलाई यातायात व्यवसायीले कटरचोकदेखि विरेन्द्र क्याम्पससम्म आएको २० रुपैयाँ लिन भनेको छ । त्यति नै लिने गरेका छौँ ।’ 

यसरी चालकहरुले यात्रुसँग बढी भाडा लिएको बताए पनि यातायात व्यवासायीले भने प्रशासनले तोके अनुसार नै गाडी भाडा लिने गरेको बताएका छन् । ‘हामीले भरतपुर क्षेत्रमा छुट्टै भाडादर कायम गरेका छैनौँ, प्रशासनले जति तोकेको छ त्यति नै हो,’ चितवन ट्याम्पो समितिका सदस्य सोमराज न्यौपानेले भने, ‘कसैले बदमासी गरेको छ भने खबर गर्नोस् हामी तुरुन्तै कारवाही गछौँ ।’ 

भरतपुरबाट कसैले रिजर्भ गरेर गाडी लान्छ भने त्यसमा प्रशासनको मूल्य कायम नहुने उनले बताए । ‘कोही यात्रुले मिलेर गाडी रिजर्भ गर्छ, त्यसमा हाम्रो भन्नु केही छैन’, उनले भने, ‘तर रिजर्भ गरेको छैन भने प्रशासनले तोके अनुसार भाडा लिनुपर्छ, आफूखुशी गर्न पाईंदैन ।’ यात्रुहरुको सुविधाको विषयलाई लिएर ट्राफिक प्रहरीसंँग समन्वय गरेर सवारी चालकलाई तालिम समेत दिने गरेको उनले बताए । 

चौबीसकोठीमा दैनिक बिहान पाँच बजेदेखि बेलुका आठ बजेसम्म एक जना ट्राफिक र एक जना जनपथ प्रहरी खटिन्छन् । तर, चौबीसकोठीमै यातायात व्यवासायीले यात्रुसँग भाडा बढी लिँदा पनि उनीहरु चुप लागेर बसेको पाईन्छ । 

चितवन जिल्लामा जिल्ला प्रशासन कार्यालय चितवनले दुई महिना अघि अस्थायी रुटको नयाँ भाडादर कायम गरेको थियो । उक्त भाडादर हेर्ने हो भने, ५ किलोमिटर सम्मको १४ रुपैयाँ तोकिएको छ । तर यातायात व्यवसायीले चढ्नेबितिकै २० रुपैयाँ भाडा लिने गरेका छन् । 

तोकिएभन्दा बढी भाडा लिन व्यवसायीले अटेर गरे, अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार कारबाही हुने ब्यवस्था छ । उसो त कुनै मेला महोत्सवको समयमा पनि यातायात व्यवसायीले बढी भाडा लिने गरेका छन् । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । उनीहरुले क्षमता भन्दा बढि यात्रुहरु समेत राख्ने गरेको पाईएको छ । अहिले भरतपुर क्षेत्रमा म्याजिक साढे तीन सय भन्दा बढी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *