यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, १० चैत । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ र त्यो पार्टीभित्र देखिएको मतान्तर आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन, गुमनाम प्रदेश प्रमुख र विद्यार्थी राजनीतिको पछिल्लो प्रवृत्तिलाई पनि आजका पत्रिकाहरुले केलाएका छन् ।
कान्तिपुरले विप्लव नेतत्वको नेकपाको अन्तरकुन्तर केलाएको छ । तेस्रो वरीयताका नेता विप्लवसहित ९ नेता पक्राउपछि ठूलो धक्का खाएको यो समूहका अन्य नेता पनि निगरानीमा रहेको समाचारमा उल्लेख छ । विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले कडाइ गरिरहेका बेला त्यो पार्टीमा भने विवाद चुलिएको छ । समाचार अनुसार विप्लवका अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएको कान्तिपुर समाचारको सार छ ।
null
अन्नपूर्णले सातवटै प्रदेशका प्रमुखको सोधीखोजी गरेको छ । ‘गुमनाम प्रदेश प्रमुख’ शीर्षक समाचारमा अन्नपूर्णका खगेन्द्र भण्डारी लेख्छन्– अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो । प्रदेश प्रमुखमा नियुक्त व्यक्तिहरुको निकै चर्चा भएको थियो । तर यतिबेला उनीहरु निष्क्रियजस्तै छन् । अन्नपूर्ण अगाडि लेख्छ– प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरु आ–आफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए । पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन् ।
नागरिकले ‘चीनले चिनेका नेपाली वैज्ञानिक’ शीर्षकमा चीनमा ख्याति कमाएका नेपाली वैज्ञानिकबारे एक सामग्री छापेको छ ।
ठूला मुद्दा छाडेर सानो मुद्दामा अख्तियार अल्झेको निष्कर्ष राजधानीले निकालेको छ । समाचार अनुसार अकुत सम्पत्तिसम्बन्धी ७० मुद्दाको छानबिन नै नगरी तामेलीमा राखेको आयोगले खुद्रा मुद्दामा भने चासो दिइरहेको छ ।
नेपाल साप्ताहिक लेख्छ– विप्लव समूहको राजनीतिक संगठन भने निकै कमजोर छ । स्थायी कमिटीका नेताहरु विभाजित देखिन्छन् । भातृ संगठनमा पकड राख्न नेताहरुबीच होडबाजी देखिन्छ । आफूअनुकूल नेतृत्व नछानेपछि नेता खड्गबहादुर विश्वकर्माको पहलमा पत्रकार संगठनका पाँच नेता निष्कासनमा परे । नेपालका अनुसार, आर्थिक विवादमा समेत फसेको छ, विप्लवको पार्टी । आर्थिक विभाग प्रमुख प्रकाण्ड र सुदर्शनबीच विवाद झ्याँगिएर पाँच सदस्यीय स्थायी कमिटी नै विभाजित छ ।








