मुक्त हलियाका घर भत्काइयो, परिवार समस्यामा

 

फागुन १६, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काई दिएको छ । 

निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी रु १० लाखभन्दा बढीको क्षति पु¥याइएको छ । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् । 

null

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउनका लागि जडान गरिएका छ वटा नल पनि चोरी भएका छन् । निर्माण हँुदै गरेका छ वटा घरका झ्यालसमेत चोरी भएको छ । 

भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि रु दुई लाख २५ हजार उपलब्ध गराएको थियो । 

‘कार्यालयले पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँट्टा, नल र झ्याल चोरी गरेर लगेको छ । घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पु¥याएपछि बिचल्लीमा परेका छौँ’, मुक्त हलिया गणेश सुनारले भने, ‘पुनःस्थापन हुन पाउँदा निकै खुशी थियौँ । बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने पीर थपिएको छ ।” 

निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा आज लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताए । प्रहरीले घर भत्काउनेको खोजी गरी कारवाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए । अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =