धार्मीक र पर्यटकीय दृष्टिले महत्वको सानो पाथीभरा

विराटनगर, चैत ११ ।इलामको पाथिभरादेवी मन्दीरमा दर्शनका लागि पुग्ने भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । इलामको रोङ गाउँपालिका–३ स्थित सानो पाथिभरादेवी, कान्छी पाथिभराको नामले समेत चिनिने सो मन्दिरमा पुजाआजा र दर्शनका लागि पुग्ने भक्तजनहरुको दिन प्रतिदिन घुइँचो लाग्ने गरेको हो । 

यस मन्दिरमा मनले चाहेको भाकल पूरा हुने विश्वासका साथ भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । ‘पाथीभरा माताले बोलाएर यहाँ सम्म आइपुगेको हुँ’ दर्शनका लागि आएका इटहरीका खड्ग बहादुर श्रेष्ठले भने ‘माताको शक्ति एकदमै छ । चिताएको र भाकल गरेको सवै पुरा हुन्छ भन्ने विश्वासले हामी यहाँ आएका हौँ ।’ 

 

null

मन्दिरमा विशेषगरि दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमी लगायतका चाडपर्वहरूमा मेला लाग्ने गरेको र प्रत्येक शनिबार र मङ्गलबार दर्शनार्थीको भीड लाग्ने गरेको पाथिभरा क्षेत्र विकास कोष समितिका सचिव दिलिप राईले बताए । 

उनले ति दिनहरुमा भक्तजनहरुको बढी भिड हुने गरेपनी प्रायः सँधै भक्तजनहरु उल्लेख्य रुपमा आउने गरेको जानकारी दिए । उनले पुजा आजा मात्र नभई भक्तजनहरु विवाह ब्रतबन्ध तथा पुराणजस्ता उत्सवका लागि पनि आउने गरेको बताए । ‘माताको शक्ति अपरम्पार छ । यहाँ एक पटक आएका भक्तजनहरु भाकल पुरा हुने भएकाले पटक पटक आउनुहुन्छ ।’ उनले भने । 

 

सो मन्दिरमा खुड्किलाबाट जाँदा खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा देवीलाई बली दिएको हुने र घटनाको केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको जनविश्वास छ । यस मन्दिरमा नेपाल, भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरू दर्शनका लागि आउने गरेको सचिव राइले जानकारी दिए । 

पाथीभरा देवी मन्दिर झापा जिल्लाको चारआली बजारबाट उत्तर तर्फ मेची राजमार्ग हुँदै भाडा वा निजी सवारी साधनबाट करिब डेढ घण्टामा सो मन्दिर पुग्न सकिन्छ । अर्कोतिर इलामको सुर्योदय नगरपालिका स्थित फिक्कल बजार बाट पनि झण्डै आधा घण्टाको यात्रा गरेपछी मन्दिर जाने गेट नजिकैको बजार पुगिन्छ । जहाँबाट मन्दिर नजिकै सम्म रेलिङसहितको बनाइएका १ किलोमिटर पक्कि सिँढी चढेर समेत मन्दिर पुग्न सकिन्छ । 

सो मन्दिर कुटिडाँडादेखि करीब ८ सय मिटर माथिको डाँडामा अवस्थित छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस मिटरको उचाइमा पर्दछ । 

 

पाथीभरा देवीको मन्दिर उत्पत्ति र विकासका विभिन्न धारणाहरू व्यक्त हुँदै आएपनी परापूर्वकाल देखीनै पूजा–आजा गरिँदै आएको स्थानीय बुढापाका बताउँछन् । स्थानीय अजम्बर राइले भने ‘यहाँ परापूर्वकालदेखी देविथान रहेको र बाजे बराजुको पालादेखीनै पुजा हुँदै आएको हामीले सुन्दै आएका हौँ ।’ 

 

मन्दिरका रुपमा विकास भएका अनेकौँ किम्बदन्ती रहेपनी एउटै धारणालाई महत्व दिइँदै आएको छ । २०३४ सालमा झापा बुधबारेका डिल्लीराम पाठक भन्ने एक जना झाँक्रिले सपनामा पाथीभरा देवीकी अन्तरी बहिनी देखेको र सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बस्दा मध्यरात पूरै उज्यालो भएर दुई वटा बाघ देखेको र ति बाघ दुई वटी केटीका रुपमा देखिए । तिनले हालको पाथीभरा देवीको मन्दिरको शिला देखाइदिएको तिन दिन पछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिएको मन्दिरका पूजारी यदुनाथ घिमिरेले बताए । 

घिमिरेले त्यसपछी पाठक वर्षको एक पटक पूजा गर्न त्यहाँ जाने गरेको र सो कुराले चर्चा पाउन थालेपछि २०५१ साल मै विष्णुप्रसाद बरालको अध्यक्षतामा मन्दिरको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले पाथीभरा मन्दिर संरक्षण समितिको स्थापना भएको उनले बताए । उनले समितिको स्थापनापछि शिलालाई घेरा हाली मन्दिरको निर्माण गरिएको बताए । 

 

पाथीभरा मन्दिरदेखि केही तल मेची राजमार्गसँगै जोडिएको अर्को पनि मन्दिर छ हाँसपोखरी । पहिले त्यहाँ रहेको एउटा ठूलो पोखरीमा हाँस बस्ने गर्दथ्यो । त्यहाँ हाँस भएकोले नै त्यो पोखरीलाई हाँस पोखरी भनिएको हो । तर, पछी पोखरी सुकेपछी हाँस पनि लोप भएको केही वर्षपछि सोही ठाउँमा हाँसको प्रतिमा कुँदिएको एउटा शिला फेला परेको र त्यही शिलालाई स्थापना गरी २०५० सालमा मन्दिर निर्माण गरिएको समितिले जनाएको छ । 

अहिले सो शिलामा हाँसको चित्र स्पष्ट देख्न सकिन्छ । पाथीभरा मन्दिर मात्रै गएर चिताएको पुरा नहुने भएकाले दाहिने पारेर दुवै मन्दिरको परिक्रमा गर्नुपर्ने धार्मिक विश्वास रहेको पुजारी घिमिरेले बताए । 

धार्मीक हिसाबले मात्र होइन प्राकृतिक सुन्दरताले पनि निकै धनी छ पाथिभरा मन्दिर क्षेत्र । मन्दिर परिसर वरपर रहेका अलैंची घारी, घना जंगलको शौन्दर्यताले जो कोहीलाई पनि मोहीत बनाउँछ । मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामको नागबेली सडक अनि चियाबारीको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । त्यति मात्र नभएर भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू विश्वको तेश्रो अग्लो हिमशिखर कञ्चनजंघा साथै ताप्लेजुङको पाथीभरादेवी मन्दिर समेत खुल्ला आँखाले नियाल्ने अवसर समेत सो क्षेत्रबाट पाइन्छ । 

पाथीभरा क्षेत्र विकास कोष समितिले मन्दिरबाट प्राप्त दान भेटी अनुदान–चन्दा आदिबाट संकलन भएको रकमले मन्दिरकै संरक्षण र विकासमा खर्च गर्दै आइरहेको छ । यसरी प्राप्त रकमले कुटिडाँडादेखि मन्दिरसम्म सिंडी, मन्दिर तथा धर्मशालाको निर्माण लगायत थुप्रै पूर्वाधारहरु निर्माण गरिएको सचिव राईले बताए । उनले स्थानीय सरकार नगरपालिकाले पनि सो मन्दिरको विकास, प्रवद्र्धन र संरक्षणमा चासो राखेर सहयोग गरिरहेको उनले जानकारी दिए । 

 

उनले भने ‘भर्खरै रोङ गाउँपालिकाले यसको विकासका लागि गुरु योजना बनाएको छ । गाउँपालिकाले पनि लगानी गरेर विकासमा टेवा पुर्याइरहेको छ । विषेशगरी भक्तजनकै हार्थिक सहयोगबाटै चलेको छ ।’ 

इलामको पाथिभरा क्षेत्र धार्मीक र पर्यटकीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण छ । यस्ता धार्मीक तथा प्राकृतिक धरोहरहरुले देशकै पहिचान स्थापित गर्ने मात्र नभई पर्यटनले आर्थीक लाभ हाँसिल गरि मुलुक समृद्धिको दिशामा अघि बढ्न टेवा मिल्नेछ । त्यसर्थ यस्ता धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन र विकासमा सरकारको विषेश ध्यान जान जरुरी देखिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *