सबै क्षेत्रको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचार हुँदैनः महिला अधिकारकर्मी

 

फागुन २४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । 

रिपोर्टर्स क्लबमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताए । 

null

साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् । 

विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् । 

तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभई आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीले दावी गरिन् । आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् । 

‘महिला शासक र शोषित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन?’ रेग्मीले प्रश्न गरिन् । 

रेग्मीले अमेरिकामा समेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् । ‘अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो’, उनले भनिन् । 

रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन’, रेग्मीले भनिन् । 

रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचार समेत कम हुने दावी गरिन् । सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने बताईन् । 

पछिल्लो समय महिला आन्दोलन सुस्ताएको भन्दै उनले सबै दलका महिला नेतृ र अधिकारकर्मीलाई एक हुन आग्रह समेत गरेकी छिन् । 

संसदमै महिला हिंसा छः चन्दा चौधरी 

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिएपनि पर्याप्त नभएको तर्क गरिन् । 

आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुख जति महिलालाई दिइएको गुनासो गरिन् । 

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘निर्मलापन्तको हत्यारा पत्तालागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाईमात्रै नियमलाग्ने हो ?’ चौधरीले भनिन् । 

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्था सहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ । 

चौधरीले समाजमा मात्रै नभइ संसदमा पनि महिला हिंसा हुने गरेको बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिक तर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो । 

“संसदमा महिलालाई शोपिस बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनु पर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ’, उनले भनिन् । 

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । ‘हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिँदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ,’ उनले गुनासो गरिन् । 

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन् । 

सरकारले निर्मला पन्तका बलात्कारी लुकाएको छैनः शान्ता चौधरी 

कार्यक्रममा नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ति जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् । 

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् । 

‘यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नु परेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयामा मात्रै बोल्ने ?’ उनले प्रश्न गरिन् । 

सुदूरपश्चिममा छाउपडी र मधेसमा दाइजो प्रथा कहिले अन्त्य हुन्छ ? दुर्गा सोव 

कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोज कदुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताईन् । 

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेसमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो । 

नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको सोवको आरोप छ । स्वार्थ केन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *