भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने 

 

फागुन २६, चितवन । चितवनको भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने भएको छ । सीमा विवादका लागि ०२६ सालदेखिको अभिलेख हेरी टुंगो लगाइने भएको हो । 

जिल्लाका विभिन्न कार्यालयहरुमा रहेका अभिलेखका आधारमा सीमा विवाद टुंगो लगाइने र अभिलेखसँगै अन्य प्राविधिक पक्षको पनि ख्याल गरिने भएको छ । समितिका संयोजक रहेका जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले भने, ‘संघीय मामिला मन्त्रालयबाट नक्सा फाँटका प्राविधिक बोलाई राजनीतिक हिसाबले नै विवाद समाधान गर्ने योजना छ ।’ 

null

गत, फागुन १४ गते जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सीमा विवाद समाधान गर्ने निर्णय गरेको थियो । बैठकले भरतपुर र इच्छाकामनाको विवाद रहेको नदीजन्य पदार्थ उत्खनन क्षेत्र खगेरी खोला क्षेत्रमा जिल्ला अनुगमन तथा समन्वय समितिबाट अनुगमन गरी प्रतिवेदन बनाई त्यसैको आधारमा काम गर्ने/गराउने निर्णय भएको छ । 

भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच भएको सिमाना विवादको विषयमा दुवै स्थानीय तहका प्रमुख, जनप्रतिनिधिहरु, जिल्लाका राजनीतिक दल, प्रजिअ बीच छलफल भएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले एक महिनाभित्र अर्थात् चैत दोस्रो हप्ताभित्र आवश्यक निर्णय गर्ने उल्लेख छ । 

कार्यदलको परामर्श र सल्लाहअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विवाद निरुपणका लागि जिल्ला समन्वय समिति चितवन मार्फत अनुरोध गर्ने निर्णय समेत भएको छ । 

कार्यदल गठन सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा भरतपुर महानगरप्रमुख, कालिका नगरपालिका प्रमुख, इच्छाकामना गाउँपालिका प्रमुख, नेकपा प्रमुख, नेपाली काँग्रेस प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख नापी अधिकृत, वन कार्यालय प्रमुख, पूर्वाधार विकास कार्यालय प्रमुख तथा जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहेका छन् । कार्यदलमा सम्बन्धित निर्वाचन क्षेत्रका संघीय संसद् र प्रदेश संसद्लाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा राखिएको छ । 

विवाद खोलामा भरतपुर महानगरपालिकाको वडा नं ११ को सीमा र इच्छाकामना गाउँपालिका वडा नं ७ को खगेरी खोला सिमानाका विषयमा विवाद उत्पन्न भएको हो । सीमा विवाद उत्पन्न भएपछि दुई स्थानीय तहका प्रतिनिधिलाई राखेर समन्वय गरेर टुंग्याउने प्रयास गत मंसिरमा नै भए पनि सहमति हुन सकेको छैन । 

खगेरी खोलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने गरी गाउँपालिकाले टेन्डर गरेपछि महानगर र गाउँपालिकाका बीचमा सीमा विवाद चुलिएको हो । महानगरले पनि यही खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्ने योजना बनाएको थियो । 

खगेरी खोलामा सीमा भएको हुँदा त्यसमा पनि महानगरको दाबी छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नं ७ को वडा कार्यालय, विद्यालय भवन, सामुदायिक भवन, चर्च, बर्थिङ सेन्टरसहित करिब १५० घरधुरी भरतपुर महानगरपालिकामा पर्ने देखिन्छ । हाल इच्छाकामनामा पर्ने सामुदायिक वनहरु सोमरी, पिपलटार, रानीखोला पनि भरतपुर महानगरमा नै पर्ने देखिन्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरको सीमा खगेरी खोला र त्यसभन्दा पनि अझै उता हुने बताए । 

गाउँपालिकाले धमिले खोलामा राखेको पोस्ट हटाउनुपर्ने दाबी उनको छ । जीपीएस लगायत अन्य ऐतिहासिक तथ्यहरुलाई हेर्दा भरतपुर महानगरको सीमा अहिले गाउँपालिकाले भनेको स्थानबाट ७ किलोमिटर भित्र पर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *