‘पल्टनेको फोटो’ सार्वजनिक

 

फागुन २४, काठमाडाैँ ।  साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक गरिएको छ । बुधबार बागबजार स्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । निबन्धकार तथा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताइन् । उनले आफूले राईका कथाहरूमा डायास्पोरिक तथा सैन्य साहित्य सम्बन्धी अर्गानिक स्वादको कथा पाएको सुनाइन् । 

null

 

कवि तथा समालोचक सुरेश हाचेकालीले नवचेतनाग्रह, डायास्पोरा साहित्यसिद्धान्त र युद्ध सौन्दर्य चेतनाका सिद्धान्तकार तथा चिन्तक राईका कथाहरू तिनै सिद्धान्तमा आधारित रहेको चर्चा गरे । उनले राईको ‘पल्टनेको फोटो’ कथासङ्ग्रह उत्कृष्ट रहेको बताए । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका आजीवन सदस्य तथा नेपाल संयोजक प्राज्ञ शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविहरू जसराज किराती, मदन राई ‘लामाखुले’ र टीका चाम्लिङले नेपाली साहित्यमा रक्ष राईको योगदानबारे चर्चा गरेका थिए । 

कार्यक्रममा कथाकार राईले आफ्नो साहित्य लेखनयात्रा र कथाका भावभूमिबारे प्रकाश पारेका थिए । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सङ्ग्रहभित्र सत्र वटा कथा रहेका छन् । खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’का प्रर्वतक समेत हुन् । 

उनका यस अघि ‘शहिदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह) प्रकाशित छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *