अनुगमनले तीव्रता पाउँदै, गुणस्तरमा ध्यान नदिने रेष्टुरेन्टलाई तत्काल सुधार गर्न निर्देशन 

  

फागुन २३, चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय, चितवनले पछिल्लोपटक अनुगमनलाई आक्रमक रूपमा अगाडि लगेको छ । 

प्रशासनले साना होटल तथा रेस्टुरेन्टहरुमा मात्रै अनुगमन गरेको र ठूला होटलहरुमा अनुगमन गर्न नसकेको भन्ने चौतर्फी गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको निर्देशनमा यहाँको ठूला होटलहरुमा पनि अनुगमन गरिएको हो । 

null

अनुगमन टोलीले भरतपुर गार्डेन रिसोर्ट, होटल रोयल सेन्चुरी र आइल्याण्ड जंगल रिसोर्टका किचन (भान्छा) हरुमा अनुगमन गर्दा आइल्याण्ड जंगल रिसोर्टमा फोहोर व्यवस्थापनमा व्यापक लापरर्वाही गरेको पाइएको अनुगमनमा खटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए । फ्रिजमा लामो समयदेखि दुर्गन्धित हुने गरी राखिएको मासुजन्य पदार्थ, मम र आलु फ्रेञ्च फ्राई नष्ट गरिएको उनले बताए । आइल्याण्डले फोहोर व्यवस्थापनमा आधारभूत आवश्यकता पनि पूरा नगरेको काफ्लेले बताए । 

 

किचनमा खुल्ला डस्टविन र खुल्लारुपमा राखिएका पकाइएका खानेकुराहरु नजिकै राखिएको थियो । बाहिरी फोहोरबाट प्रत्यक्ष सम्पर्कमा रहने गरी किचन खुल्ला राखिएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ । 

भरतपुर गार्डेन रिसोर्टको बेकरी उत्पादन कक्षमा राखिएका केकहरुमा प्रयोग गरिने करिब १२ प्रकारका म्याद गुज्रिएका फ्लेवर पनि नष्ट गरिएको खाद्य निरीक्षक काफ्लेले जानकारी दिए । दुई/तीन वर्षअगाडि नै म्याद गुज्रिएका फ्लेवर राखेको पाइएपछि तत्काल बेकरी जन्य पदार्थको उत्पादनमा रोक लगाइएको छ । बेकरी कक्षमा फोहोर व्यवस्थापन र सफासुग्घरमा पनि लापर्बाही गरेको पाइएको थियो । 

त्यस्तै, लेबल नभएका घिउ प्रयोग नगर्न निर्देशन दिइएको छ । भरतपुर गार्डेन रिसोर्टमा किचनभित्र डस्टविनहरु खुल्ला छाडिएको, फोहोर भाँडा र ताजा तरकारीहरु एकै ठाउँमा राखेको र खानेकुराहरु चिसो पारेर राख्ने कोठा (चिलिङ रूम) मा पकाइएका खानेकुराहरु नछोपी राखेको पाइएको छ । फोहोर व्यवस्थापन र अन्य सुधारका कामहरु एक/दुई दिनभित्रै गरिसक्ने रिसोर्टका व्यवस्थापक मोहन जोशीले बताए । 

होटल रोयल सेन्चुरीको भान्छामा पनि फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रशासकीय अधिकृत एवम् बजार अनुगमन फोकल अधिकृत महेश पौडेलले बताए । अखाद्य चुक अमिलो नष्ट गरिएको र किचनभित्र राखिएका डस्टविनहरु अनिवार्यरुपमा छोपेर राख्न निर्देशन दिइएको पौडेलले बताए । किचन कक्षको भुइँलाई सुख्खा बनाइराख्न र नियमित सफा गरिराख्न पनि सुझाव दिइएको छ । 

उपभोक्ता अधिकार संरक्षण मञ्च, चितवनका उपाध्यक्ष विष्णु भूषालले ठूला होटलहरुले नै फोहोर व्यवस्थापनमा लापर्बाही गरेपछि साना होटलहरुलाई मात्रै कारबाही गरेर अनुगमनको कुनै अर्थ नहुने बताए । लापर्बाही गर्ने जोकोहीलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

राप्ती नगरपालिकामा पनि अनुगमन यस्तै, राप्ती नगरपालिकाको मुख्य बजार भण्डारा क्षेत्रमा बुधबार होटल तथा किराना पसलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र राप्ती नगरपालिका ५ मा गठन गरिएको खाद्य स्वच्छता समितिले संयुक्तरुपमा भण्डाराका पसलहरुमा अनुगमन गरेको हो । 

सोही अवसमा स्थानीय १७ वटा किराना पसल र होटलहरु अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्राय सबै किराना पसलहरुमा मिति गुज्रिएका पेय पदार्थहरु भेटिएको कार्यालयका प्रमुख बिक्की राउतले जानकारी दिए । साथै, होटलहरुले सरसफाइमा सुधार गर्नुपर्ने देखिएकाले पहिलो चरणमा सचेत गराइएको उनले बताए । अनुगमनमा कार्यालयका प्रमुख राउतसहित राप्ती नगरपालिका–५ की वडाध्यक्ष एवम् वडास्तरीय खाद्य स्वच्छता समितिकी अध्यक्ष मेनुका पाठक, सदस्यहरु धर्मराज कँडेल, कुलप्रसाद पाठक, प्रहरी सहायक निरीक्षक शारदा प्रसाद शाह, खिलकान्त रुवाली, फणिन्द्र राज पाठक लगायतको टोली खटिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *