च्याम्पियन्स लिग: बार्सिलोनाको शानदार जित, लिभरपुलले बायर्नलाई हरायो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुल पुगेका छन् । बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी लियोनलाई ५—१ गोलले हरायो । यसअघि लियोनको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त नतिजासँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठवटै टोलीको टुंगो लागेको हो । 

 

लियोनविरुद्धको खेलमा बार्सिलोनाका लागि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले दुई गोल गरे । खेल सुरु भएको १८ औं मिनेटमै मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । त्यस्तै, ३१ औं मिनेटमा फिलिप कोउटिन्होले टोलीको अग्रता दोब्बर बनाए । उनले लुइस स्वारेजको पासमा गोल गरेका हुन् । 

null

यसैगरी ५८ औं मिनेटमा लियोनका लुकास टुसार्टले जवाफी गोल फर्काए । ७८ औं मिनेटमा मेस्सीले व्यक्तिगत रुपमा दोस्रो गोल थपे । ८१ औं मिनेटमा जेरार्ड पीकेले बार्सिलोनालाई ४—१ को बलियो स्थितिमा पुर्‍याए । 

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि ओसमेन डेम्बेलले बार्सिलोनाका लागि पाँचौं गोल गरेका थिए । आफैले दुई गोल गरेका मेस्सीले थप दुई गोलका लागि पास उपलब्ध गराएका थिए । बार्सिलोना कीर्तिमानी रुपमा लगातार १२ औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो । 

घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको पछिल्ला ३० खेलमा बार्सिलोना अपराजित रहँदै आएको छ । तिमध्ये २७ खेल बार्सिलोनाले जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ । च्याम्पियन्स लिगमा यो सबैभन्दा लामो अपराजित यात्रा हो । 

लिभरपुल भने प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा ३—१ ले हराउँदै अगाडि बढेको छ । यसअघि लिभरपुलको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो । 

 

यसैगरी बायर्न म्युनिखविरुद्धको खेलमा लिभरपुलका लागि साडियो मानेले दुई गोलको योगदान गरे । खेल सुरु भएको २६ औं मिनेटमा पहिलो गोल गरेका मानेले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए । 

लिभरपुलका लागि अर्को एक गोल भने ६९ औं मिनेटमा भिर्जिल भान जिकले गरेका थिए । खेलको ३९ औं मिनेटमा लिभरपुलका जोल माटिपबाट एउटा आत्मघाति गोल भएको थियो । लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो । 

 

सन् २०१०/११ सिजनपछि पहिलो पटक बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न असफल बनेको हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल तालिका शुक्रबार राति सार्वजनिक गरिने छ । 

इङ्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । यस बाहेक इटालियन क्लब युभेन्ट्स, डच क्लब आयाक्स र पोर्चुगिज क्लब एफसी पोर्टो पनि क्वार्टरफाइनलमा पुगेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *