विप्लवका समर्थकलाई प्रधानमन्त्रीको व्यंग्यः ‘प्रतिबन्ध लगाउँदा हनहन ज्वरो आयो’

 

चैत १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि नियन्त्रण गर्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

विप्लव समूहलाई बारम्बार सम्झाउँदा नसम्झिएको र वार्तामा बोलाउँदा पनि नआएका कारण यस्तो कडा कदम चाल्नु परेको स्पष्ट पार्दै उनले भने, ‘लोकतन्त्रमा मान्छे मार्न पाइँदैन । विकासको काममा बाधा दिने, आतंक फैलाउने, बम पड्काउँदै हिँड्ने विप्लवको गतिविधिमाथि नियन्त्रण गर्छ । ब्याकगियर छैन।’ 

null

नीति तथा गतिविधि नै आपराधिक रहेको दाबी गर्दै प्रधानमन्त्रीले विप्लवको कुनै ठेगाना नभएको बताए । विप्लवको समर्थन गर्नेमाथि पनि प्रम ओलीले कडा आलोचना गरे । ‘विध्वंश मच्चाउने, तोडफोड, लुटपाट गर्दै हिँड्ने विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा कतिलाई हनहन ज्वरो आयो । यो त लोकतान्त्रिक भएन भन्ने । अनि बम पड्काउन पाउने हुन्छ लोकतन्त्रमा ? लुट्न पाउने हुन्छ लोकतन्त्रमा ?’ प्रम ओलीले प्रश्न गरे । 

यस्ता हिंसात्मक गतिविधि गर्न पाईँदैन भन्दा पनि लोकतन्त्र धरापमा पर्यो भन्नु गलत भएको उनको भनाइ छ । 

केही हप्ताअघि सम्झौता गरिएको सिके राउत समूहको प्रसंग निकाल्दै प्रधानमन्त्रीले अब देशमा विखण्डनवाद नभएको बताए । ‘आफ्नै गान बनाएर हिँडेको समूहले राष्ट्रिय गान बजाएर आफ्नो काम कारवाही सुरु गरेको छ । यसमा त नेपालीले खुशी मनाउनु पर्छ’, प्रम ओलीले भने । 

यस्तै उनले कुनै पनि विद्यार्थी बाहिर छन् भन्ने अवस्था अन्तय गर्नका लागि यो वर्ष पनि विद्यार्थी भर्ना अभियान चलाउने जानकारी गराए । 

नेपालको इतिहासमा कहिल्यै नभएको विकास आफ्नो सरकारको पालामा भएको उनको दाबी छ । ‘कृषिको आधुनिकीकरणमा असाधारण काम भएको छ । यो उपलब्धिको वर्ष हो । दुरगामी महत्वका कामहरु धेरै भएका छन् । हामीले यो एक वर्ष सफलतापूर्वक पार गरेका छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *