यस्ता छन् आजका पत्रपत्रिकामा समाचार

काठमाडौं, २६ फागुन । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले दिएको निर्देशनलाई कुनैले मुख्य समाचार बनाएका छन् भने केहीको नजर घट्दो विदेशी मुद्रा स्रोत, प्रदूषणमा परेको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतका सम्भावित कदमबारे पनि आजका पत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् ।
कुनै बेलाका आफ्नै सहयात्री नेत्रविक्रम चन्द विप्लवलाई गृहमन्त्री रामबहादुर थापाले राजनीतिक व्यवहार नगर्न दिएको निर्देशनलाई कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ । कान्तिपुरका अनुसार, सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् । सीप परीक्षण नगरी डाक्टरलाई लाइसेन्स दिइएको, मलेसियासँगको भीसा शुल्क विवाद नसुल्झिएको लगायत खबर पनि कान्तिपुरमा छन् ।
null
अन्नपूर्णले राजधानीको वायु प्रदूषणबारे चासो राखेको छ । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको अन्नपूर्ण समाचारको सार छ । वायु प्रदूषणकै कारण बर्सेनि २२ हजारको मृत्यु हुने गरेको तथ्यांक पनि अन्नपूर्णले प्रस्तुत गरेको छ । ‘अब के गर्लान् सीके ?’ शीर्षक दिएर अन्नपूर्णले राउतका सम्भावित कदमको विश्लेषण गरेको छ ।
सरकारले राष्ट्रपतिको सवारीमा १३ करोड कारगेड मोटरसाइकल उपलब्ध गराएकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतको हवाला दिँदै नागरिकले लेखेको छ । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।








