प्रदेश राजधानी र राजधानीकाे नामका विषयमा स्थानीयवासीको आ–आफ्नै दावी

माघ २१, विराटनगर । १ नं. प्रदेशसभाको हिउँदे अधिवेशन आईतबारदेखी सुरु भएपछि प्रदेशको स्थायी राजधानी र नमाकरणको विषय तातेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण बर्खे अधिवेशनबाट टुंगो लाग्न नसकेपछि केही समय सेलाएको यो विषय अब पेचिलो बनेको छ । 

हिउँदे अधिवेसन सुरु भएसँगै प्रदेशको स्थायी राजधानी आफ्नो शहरमा हुनुपर्ने प्रदेश १ का विभिन्न शहरका जनताले माग गर्दै आएका छन् । प्रदेश नं. १ को स्थायी राजधानीका लागि विराटनगर, इटहरी, धरान र धनकुटावासीले भौगोलिक बनावट, विकासका पूर्वाधार, प्रयाप्त संरचना लगायतका कारण आ–आफ्नै शहरमा राजधानी हुनुपर्ने माग राख्दै आएका छन् । 

धनकुटाबासी भन्छन्, ऐतिहासिक, भौगोलिक र प्रशासनिक हिसाबले धनकुटा उपयुक्त 

null

धनकुटाका नागरिक अगुवाहरुले धनकुटा नै स्थायी राजधानीका लागि उपयुक्त भएको बताएका छन् । 

उनीहरुले धनकुटा प्रशासनिक केन्द्रको मुल थलो तथा विक्रम सम्वत १८४० देखि राज्यले लगानी गरेको ठाउँ बाहेक अन्यत्र राजधानी राखिनु न्यायोचित नहुने बताएका छन् । धनकुटा–७ का जनाद्र्धन घिमिरेले सबै ठाउँलाई समान रुपमा विकास गर्ने हो भने स्थायी राजधानी धनकुटाको विकल्प अरु हुनै नसक्ने बताए । उनले भने, ‘राजधानीको अन्त विकल्प खोज्नुपर्छ जस्तो मलाई लाग्दैन । म धनकुटावासी भएर मात्र भनेको पनि हैन । खासगरि सामरिक महत्वको दृष्टिकोणबाट प्राकृतिक न्यायका हिसाबमा प्रशासनिक केन्द्रको मुल थलो ऐतिहासिक दृष्टिकोणबाट पनि स्थायी राजधानी धनकुटा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ 

त्यस्तै धनकुटा–६ का राजेश्वर बहादुर श्रेष्ठले संघियताको मर्म अनुसार समानुपातिक विकासका लागि पहाडी जिल्ला उपयुक्त हुने र त्यसका लागि धनकुटा निर्विकल्प रहेको बताए । उनले सामरिक, पूर्वाधार, पहुँच हावापानीका हिसाबले धनकुटा उपयुक्त रहेको भन्दै स्थायी राजधानी धनकुटा बनाउन माग गरे । 

 

त्यस्तै धनकुटाका पूर्व माओवादी केन्द्रका सहईन्चार्ज तथा नेकपाका जिल्ला सदस्य ऋषिराम ढुंगानाले समानुपातिक ढंगले विकासको पहुँच पु¥याउने हो भने तथा साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेकाले अन्यत्र राजधानी राखिए पछाडी पर्दै आएका पहाडी जिल्ला फेरी पनि पछि परिरहने बताए । उनले भने ‘हामीले धनकुटालाई राजधानी भनेर त्यतिकै मागेका छैनौँ । पूर्वाधार तथा सुरक्षाका हिसाबले पनि धनकुटा जिल्लामा पहिल्यै देखि नै विकास क्षेत्रको सदरमुकाम रहँदै आएको छ । त्यसैले स्थायी राजधानी धनकुटानै हुनुपर्छ । नामको हिसाबमा पहिचान र भुगोल सबैले मान्ने जे उपयुक्त हुन्छ त्यहि राख्दा हामीलाई आपत्ति हुने छैन ।’ 

धराने जनता के भन्छन् ? 

त्यस्तै धराने जनताहरुले पनि सबै हिसाबले धरान नै प्रदेशको स्थायी राजधानी हुन उपयुक्त भएको दाबी गरे । उनीहरुले धरान भौगोलिक र सबैलाई पायक पर्ने हिसाबले राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानी धरान बनाउन प्रदेश सरकारसँग माग गरेका छन् । धरान–१६ का कृष्णप्रसाद धितालले भने, ‘सम्पूर्ण कुरा केलाउने हो भने राजधानीका लागि धरान नै उपयुक्त हुन्छ । यहाँको भौगोलिक दृष्टिकोणले पनि यहाँ राजधानी उपयुक्त छ । राजधानीका लागि वातावरण पनि स्वच्छ हुनुप¥यो । वरिपरि डाँडाकाँडा र समणीय स्थल रहेकाले पनि धरान राजधानीका लागि निर्विकल्प छ ।’ 

त्यस्तै धरानकै अमर लकान्द्रिले धरानमा प्रदेशको स्यायी राजधानीका लागि प्रयाप्त संरचनाहरु रहेकाले धरानलाई नै स्यायी राजधानी बनाउन माग गरे । उनले भने, ‘विराटनगरले विभिन्न संरचनाहरु रहेको दावी गर्दै राजधानी उतै राख्न सरकारलाई दबाव दिँदै आइरहेको छ । संरचनाका हिसाबले धरान पनि विराटनगर भन्दा कम छैन । त्यसमा पनि धरानको हावा पानी स्वच्छ र सफा छ । अझ धरान धार्मिक पर्यटकिय दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेकाले धरान नै सथायी राजधानी हुनुपर्छ ।’ इटहरीवासी भन्छन्, ‘चारै तिरको केन्द्र भएकाले राजधानी इटहरी बन्नुपर्छ’ 

इटहरीवासीले सडक र भुगोलका आधारमा राजधानीका लागि इटहरी उपयुक्त रहेको बताए । विराटनगर भारतको सीमा नजिक रहेकाले सुरक्षाका दृष्टिकोणले विराटनगर उपयुक्त नरहेको भन्दै इटहरी चारैतिरबाट स्थायी राजधानी बन्न उपयुक्त रहेको दावी गरेका छन् । 

 

इटहरीका प्रकाशबाबु दियालीले भने, ‘ताप्लेजुङ, इलमा, पाँचथर लगायतका जिल्लाका जनतालाई इटहरी नजिक हुन्छ, विराटनगर पनि यहिबाट जानुपर्छ । धनकुटा, संखुवासभा, तेह्रथुम, उदयपुर, भोजपुर, खोटाङ तथा सोलुका जनतालाई पनि यहिँ पायक पर्ने भएकाले पनि इटहरी नै राजधानीका लागि उपयुक्त हो । 

त्यस्तै इटहरीकै लक्ष्मण ढकालले पनि चारैतिरको केन्द्र इटहरी रहेकाले स्थायी राजधानी इटहरी नै हुनुपर्ने माग गरे । उनले भने, ‘हाम्रो पूर्वाञ्चलमा सबैभन्दा पहिला विकास भएको विराटनगर हो । धनकुटा विकसित छ । तर सुनसरीमा केही विकास भएको छैन । राजधानी भईदिए यो पनि विकास हुन्थ्यो भन्ने हाम्रो माग हो । नामाकरणका विषयमा विरालो कालो सेतो रातो भएपनि मुसा मार्ने काम हो, त्यसैले नाम जे राखेपनि हुन्छ ।’ 

विराटनगर देशको आर्थिक मेरुदण्ड भएकाले राजधानीको पहिलो हकः विराटनगरवासी 

यता विराटनगरवासीले पनि प्रदेशको राजधानीका लागि विराटनगर सबै हिसाबले उपयुक्त रहेको भन्दै विराटनगर नै स्थायी राजधानी हुनुपर्ने दाबी गरे । विराटनगरका चेतन निरौलाले भने, ‘विराटनगर प्रदेश नं. १ को सबै भन्दा ठुलो शहर पनि हो । यो औधोगिक क्षेत्र मात्र नभएर यहाँ पर्याप्त संरचनाहरु समेत छन् । यो अस्थायी राजधानी पनि हो । यहाँ एयरपोर्ट छ । यो ऐतिहासिक ठाउँ पनि हो या । अन्य ठाउँमा राजधानी राखे धेरै ठुलो खर्च लाग्छ । त्यसैले विराटनगर नै हुनुपर्छ ।’ 

त्यस्तै विराटनगरका गोपाल काफ्लेले पनि विराटनगरमा पर्याप्त संरचना भएको बताउँदै देश कै आर्थिक मेरुदण्डका हिसाबले पनि राजधानी विराटनगर नै हुन उपयुक्त रहेको बताए । उनले भने, ‘विराटनगर देशको आर्थिक मेरुदण्ड हो । त्यसैले पनि विराटनगरलाई राजधानीको पहिलो हक जान्छ ।’ 

राजधानी दावी नगर्ने जिल्लावासी भन्छन्, ‘धनकुटा वा इटहरी’ 

त्यस्तै धरान बजारमा भेटिएका संखुवासभा खाँदबारीका राजेश थापाले भने, ‘राजधानी भनेको सेन्टरमा हुनुपर्छ, हाम्रो सेन्टर भनेको धनकुटातिर हुनुपर्छ जस्तो लाग्छ तर धनकुटा भनेको अलिकति पहाड पर्यो, सबैको पहुँच नपुग्न सक्छ । त्यहाँ सबैतिर बाटो जोडिएको छैन । झापा कुना तिर प¥यो । विराटनगर पनि सीमा नजिक प¥यो त्यसैले कि इटहरी, कि धरान राजधानी उपयुक्त हुनुपर्छ । नाम चाहीँ कोशी किँरात हुनुपर्छ ।’ 

यस्तै तेह्रथुमका हस्तराज सुब्बाले भने, ‘म चाहीँ तेह्रथुमको मान्छे त्यसैले धनकुटा नै हुनुपर्छ ।’ 

त्यसो त प्रदेश सरकारले विराटनगरलाई नै स्थायी राजधानी बनाउन तयारी गरेको स्रोतले जनाएको छ । वर्खे अधिवेशन अन्त्यका बेला सत्ता पक्षीय दल नेकपा संसदीय दलको विराटनगरमा सम्पन्न बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाई सकेको स्रोतको दावी छ । 

यद्यपी प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले यो विषय सहमति मै टुंगो लगाईने बताउँदै आएका छन् । उनले सबैको भावना समेट्ने गरि नाम र राजधानीको विषय टुंग्याइने बताउँदै आएका छन् । 

यसैबीच १ नं. प्रदेशसभाको हिउँदे अधिवेशन आईतबारदेखि सुरु भएको छ । यहि अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याउने प्रदेश सरकारको तयारी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *