चितवनको देवघाटमा वृद्धआश्रमलाई खान समस्या

फागुन १ चितवन। बिभिन्न मनोकांक्षा पूरा हुने आशमा पुण्यभूमी पवित्र तीर्थस्थल देवघाट मन्दिर धाउने भक्तजनहरुको संख्यामा कमी भेटिदैन । हाल देवघाट भक्तजनहरुको लागी मात्रै होइनन् । असहाय, गरीब, सन्तानबाट पीडित, वृद्धहरुको साहारा भनौं या घर नै बनेको छ ।
गरीब होस् या धनी, बालक, युवक र वृद्धसम्मको यो प्राकृतिक नियम हो । यसलाई सबैले स्वीकार गर्नैपर्छ । आजको ब्यस्त परिभेष र आफ्ना अधिकारको पछि लाग्ने यो समाजले आफ्नु कर्तव्यलाई बिर्सदै गएको पाइन्छ । आमाबाबु सधैं सन्तानको पक्षमा रहन्छन् । पछि वृद्ध अवस्था भए टेक्नको लागी लठ्ठी देलान् , स्यारसुहार गर्लान्, खुशी देलान् भन्ने अपेक्षा राख्दछन् ।
null
तर, कतिपय सन्तानले स्यारसुहार गर्नुभन्दा पनि वृद्ध आफ्ना आमाबाबुलाई आश्रममा लगेर अलपत्र पार्न सहज मान्छन् । यस्तै दिनदु:खी वृद्धहरुको बास्तबिकता खोतल्न चितवन र तनहुँको सिमानामा रहेको पवित्र तिर्थस्थल देवघाट पुगेको थियो । त्यहाँ कोही आफू खुशी वृद्धआश्रम आएका थिए भने, कोही नचाहँदा नचाहँदै जबरजस्ती रूपमा वृद्धआश्रम आउँन बाध्य भएका थिए । वृद्ध आश्रममा लमजुङ, सिन्धुलीसम्मका वृद्धहरु भेटिन्थे । देवघाट समाज कल्याण केन्द्र आश्रममा अहिले १८ जना आमा र ११ बुबा गरी २९ जना ज्येष्ठ नागरिक बस्दै आएका रहेछन् ।
यस आश्रम मुख्य गरी गरिब असहाय वृद्धहरुको लागी भएपनि सबै किसिमका पीडित भएका वृद्धहरु बस्दै आएका छन् । यहाँ बस्नका लागी केवल सहारा नभएका मानिसहरू मात्रै होईन सन्तानबाट अपहेलित भइ निकालिएका वृद्धहरु पनि प्रशस्तै भेटिए । सिन्धुली घर भएकी ८५ बर्षिया लक्ष्मी माया श्रेष्ठ यस आश्रममा बसोबास गरेकाे आज ६ बर्ष बित्यो । ९ महिना कोखमा राखी सुख दुःख गरी हुर्काएको आफ्नु सन्तानहरुबाट न्यानो मायाको अपेक्षा गर्नु भनेको अब भने साँच्चिकै गलत लागेको उनलेे बताइन् ।
यसै कुराकानीका क्रममा आमाबाबुको माया सन्तान माथि र सन्तानको माया ढुंगा माथी भन्दै उनलेे कृत्रिम हाँसो समेत ब्यक्त गरिन् । अझै थप्दै उनलेे भनिन् : के भनौं अरु हामी खुशी छौँ । सन्तानको के कुरा गरौं , सानो छौञ्जेल मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर । यस्ता अनेकौं उखानहरु राख्दै श्रेष्ठले आफ्ना सम्पुर्ण पीडाहरु हामी माँझ पोखिन् । त्यस्तै, ७ बर्षको कलिलो उमेरमा बिवाह भइ श्रीमानको भरमा बस्दै आएकी अर्की १०३ बर्षीया वृद्ध हुन् उमादेवी शर्मा । उनलेे श्रीमानको मृत्युपछि गुजारा चलाउन राजदरबारमा काम गर्दै आएकी थिइन् । तर, दरबार हत्याकाण्ड पछि देवघाट आएकी शर्मा यस आश्रममा बसोबास गर्नथालेकाे ८ बर्ष पूरा भएको छ ।
उनको नातिनातिना छन् । आफन्तहरू पनि नभएको होइनन् । तर, जब शरीर अशक्त भन्छन् तब आफ्नैले पनि चिन्न छाड्ने गरेको उनी बताउँछिन् । अहिले आमा बाबुको दायित्व केवल सम्पत्ति भएमात्रै पुरा हुने देखिन्छ । लमजुङ घर भइ हाल यसै आश्रममा बसोबास गर्दै आएकी कृष्ण माया अधिकारी पनि यस्तै उदाहरण हुन् । मेरो छोरी मात्रै छ । छोरा छैनन् । म संँग सम्पत्ति केही छैनन् । मलाई छोरीले पाल्दा उसलाई समस्या हुन्छ । त्यसैले म आफै यहाँ आएको हुँ । उनीहरुको केही दोष छैनन् भन्दै खुशी भइरहेको भाङ्ग व्यक्त गरिन् ।
यहाँ बसोबास गरेको पनि धेरै भयो । अब कोही आउँछ भन्ने न आश, न केही अपेक्षा । अब त केवल सुखद र मृत्युको अपेक्षा छ । बाँचुञ्जेल दुई छाक खान र आनन्दले बस्न पाए हुन्छ । तैपनि सास रहेसम्म आश लाग्दो रहेछ भन्दै सबै जना मुस्कुराइरहेका भेटिन्थे । नेपाल सरकारले यस आश्रमका लागी छुट्याइएको रकमले यहाँको ब्यावस्थापनको लागी अत्यन्तै समस्या हुने हुँदा खाना खुवाउनको लागी बिभिन्न दाताहरूको भर पर्नुपर्ने बाध्यता रहेको समाज कल्याणका नासु ढकराज कोइराला बताउँछन् ।
कर्मचारी ब्यावस्थापन, ज्येष्ठ नागरिकका लागी भोजन, औषधोपचार लगायत सम्पुर्ण क्रीयाक्रलापका लागी राज्यले छुटाएको रकमबाट ब्यावस्थापन गर्न अत्यन्तै कठिन हुन्छ । सरकारद्वारा ज्येष्ठ नागरिकका लागी महिनाको एकपटक चेकजाँच गर्ने कार्यक्रमको आयोजना गरिदिए अत्यन्तै सहज हुने थियो । यस आश्रम सञ्चालनका लागी विभिन्न दाताहरूले सहयोग गर्दा केही सहज नभएको भने होईन । साथै, वृद्धहरुको दिनचर्याका लागी दिनमा तीन पटकसम्म भजन किर्तन गर्ने ब्यावस्था भएको कोइराला बताउँछन् ।
युवापिढीहरु आफ्नो वृद्ध भएको आमालाई हेरचाह , दयामाया र सम्मान दिनुपर्दछ । जुन ज्येष्ठ नागरिकको अधिकार हो । साथै, ज्येष्ठ नागरिकको लागी उपयुक्त बजेट प्रति ध्यान दिनु पर्ने आवश्यक देखिन्छ । समय जतिसुकै परिवर्तन किन नहोस् हामीले हाम्रो कर्तव्य र उत्तरदायित्व बिर्सनु भनेको मानवता हराउनु हो ।








