अख्तियार आयुक्त पाठकको घुस उठाउने त्यो अखडा, जहाँ चल्थ्याे दबाब र बार्गेनिङ

फागुन ३, काठमाडौँ । भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकले घूस उठाउन छुट्टै कर्मचारी राखेर अखडा नै खडा गरेको खुलासा भएको छ । 

आयुक्त पाठकले खडा गरेको अखडामा एक जना नापी विभागमा कार्यरत छन् भने अर्का नापीका पूर्व कर्मचारी हुन् । अर्का व्यक्ति भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकाे स्राेतले बतायाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्तले नै ७८ लाख घुस लिएको बाहिरिएसँगै निजामती प्रशासनका केही व्यक्तिलाई समेत अखडामा राखेर विभिन्न पक्षसँग रकम उठाउने गरेको खुलासा भएको हो । 

null

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख घुस लिएको अनुसन्धानमा खुलेको हो । 

आयुक्त पाठकको इसारामा चल्ने उनीहरूले तराईका ८ जिल्लामा १० हजार रुपैयाँदेखि ५ लाखसम्म उठाउँदै गरेका थिए । तर उनीहरुले भने आफूले त्यस्तो कुनै गलत काम नगरेको दाबी गरिरहेका छन् । 

पाठकले आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न मेडिकल कलेजका पदाधिकारीलाई समेत दबाब दिने धम्क्याउने गरेको पनि अख्तियारको दाबी छ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिनहरू डा. राकेश श्रीवास्तव र विमल सिन्हासमेत आयुक्त पाठकबाट पीडित रहेको बताइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रलाई समेत उनले घरमै बोलाएर धम्क्याउने र मोलमोलाइ गर्ने गरेको सूचना बाहिरीएकाे थियाे । 

भिडियो खिचेको थाहा पाएपछि पाठकले विभिन्न दलाल तथा सरकारी कर्मचारीलाई प्रयोग गरी त्यसलाई बाहिर सार्वजनिक हुनबाट रोक्न धेरै कोशिश गरेका थिए । अख्तियार, शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारी एवं प्रहरी समेत परिचालन गरी भिडियो जफत गर्ने प्रयास भएको थियो। भिडियो खिच्ने मोक्तान र झा थरका दुई व्यक्तिको पछि लाग्न उनले प्रहरीलाई निर्देशन समेत दिएका थिए। प्रहरीले उनीहरुको पृष्ठभूमि पत्ता लगाए पनि भिडियो फर्काउन सकेन । भिडियाे हात पार्न उनी असफल नै रहे ।  

भिडियोबारे समाचारहरु सार्वजनिक हुनुभन्दा ४ महिनाअघि नै प्रधानमन्त्री केपी शर्मा ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायत यसबारे जानकार रहेकाे पनि रहस्य बाहिरीएकाे छ । तर समाचार बाहिरीएपछि बिहीबार मात्रै सबैले यस विषयमा मुख खोलेका थिए ।  

पछिल्लो समय अनियमितताविरूद्ध अख्तियार सक्रिय हुन खोजिरहँदा आयुक्तले घुस लिएको खुलासा भएको हो। 

संविधानको व्यवस्थाअनुसार अनियमितता नियन्त्रण गर्ने अड्डाको मुख्य व्यक्ति भएर आफै घुस लिने कार्यमा संलग्न पाठकमाथि संसदले महाअभियोग लगाउन सक्छ। संविधानको धारा १०१ को उपधारा २ अनुसार संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले अख्तियारका प्रमुख तथा पदाधिकारीलाई महाअभियोग लगाउन सक्ने व्यवस्था छ। 

संविधानअनुसार त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था रहेको छ। 

नेकपाका केहि नेताले भने त्यसअघि नै पाठकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताउँदै आएका छन् । 

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले संसदले पाठकलाई महाभियोग लगाएपनि इन्जिनियरिङ कलेज मास्न खोज्नेहरु शिक्षा मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालय र न्यायालयमा समेत रहेकोले तिनीहरुलाई समेत कारवाही हुनुपर्ने बताए । उनले पाठकले नैतिकताको आधारमा राजिनामा दिएर मात्रै धर नपाउने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *