वीपी प्रतिष्ठान धरानको अब आफ्नै अक्सिजन प्लान्ट

माघ २४, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफनै अक्सिजन प्लान्ट निर्माण गरेको छ । प्रतिष्ठानले अक्सिजन प्लान्ट नै स्थापना गरेपछि वर्षेनी अक्सिजन खरिदमा भइरहेको खर्च जोगिने भएको छ ।  

करिब डेढ वर्ष सम्मको अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण गरिएको हो । जडित प्लान्टबाट २४ घण्टामा २१ लाख ६० हजार लिटरसम्म अक्सिजन उत्पादन हुनेछ । प्लान्ट करिब ३ करोडको लागतमा स्थापना गरिएको हो ।जडित प्लान्टले वातावरणमा रहेको हावाबाटै अक्सिजन उत्पादन गर्नेछ । 

अक्सिजन प्लान्टको प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार र अस्पताल निर्देशक डा. गौरीशंकर शाहले संयुक्त रूपमा उदघाटन गरे । 

null

 

उद्घाटन कार्यक्रममा बोल्दै अस्पताल निर्देशक शाहले हावाबाट उत्पादन गरिएको अक्सिजन प्रतिष्ठानका विभिन्न वार्डहरूमा पाइपलाइनबाट विस्तार गरिने जानकारी दिए । उनले प्लान्ट सुरु भएसँगै अक्सिजन खरिदका लागि वर्षेनी करोडौं रुपैंया खर्च गर्नुपर्ने बाध्यता हटेको बताए । 

अक्सिजन उत्पादन भएसँगै प्रतिष्ठानका विभिन्न वार्ड, आइसियू, एनआइसियू लगायत अति आवश्यकीय स्थानमा पाइपलाइनबाट अक्सिजन विस्तार गरिएको छ ।  

सञ्चालनमा आएको अक्सिजन प्लान्टबाट प्रति मिनेट १६ सय लिटर अक्सिजन उत्पादन समेत हुने प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले बताए । ‘प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन अक्सिजन प्लान्ट आवश्यक थियो । प्लान्ट निर्माण भएपछि अक्सिजनकै लागि दैनिक ७० हजार बढि रकम खर्च गर्नुपर्ने बाध्यता हटेको छ ।’ उनले भने । 

बुस्टर क्षमता सहित सो अक्सिजन प्लान्टबाट प्रति घण्टा १० वटा र दैनिक ६० वटासम्म सिलिण्डर भर्न सकिने छ । प्रतिष्ठानले आगामी दिनमा प्रतिष्ठानलाई अक्सिजन सिलिण्डर रहित बनाउन काम भइरहेको भन्दै विरामी भएको स्थानमा पाइपबाटै अक्सिजन पुर्याउने योजना रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *