मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्ला कास्कीमा हुने

फागुन १६, पोखरा । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुने भएको छ ।
पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका उनी कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित थिए ।
null
अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिने उनका स्वकीय सचिव राजेन्द्र अधिकारीले जानकारी दिए । शव परिक्षण पश्चात नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।
गृहमन्त्रालयले निर्णय गरेपछि मन्त्री अधिकारीको शव काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । उनको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि राखेपछि मात्रै अन्त्येष्टि गरिने जानकारी दिए ।
बुधबार भएको हेलिकप्ट दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । पाथिभराको सिस्ने–खोला क्षेत्रमा उडानका क्रममा बुधबार करिब साढे १ बजे दुर्घटना हुँदा ६ जना नेपालीसहित १ जना चालक दलका सदस्यको मृत्यु भएको हो ।








