गरे के हुँदैन ? रौतहटको मौलिकता अब राजधानीमा

माघ २७, काठमाडौं । रौतहटको गरुडा, गौर, कटहरियाका बजारमा पाइने कटियामा पकाएको खसीको मासुको स्वाद नै बेग्लै हुन्छ । एक पटक रौतहटको कटिया चाखेकालाई स्वाद विर्सन हम्मेहम्मे पर्छ । 

कालिकास्थानको बरको बोटै पछिल्तिर छ, कटिया हाउस । जहाँ रौतहटको कटियालाई विर्साइदिने स्वादको कटिया पाइन्छ । कटिया ठेट तराईको शब्द हो । जसले माटोको एक प्रकारको भाँडोलाई जनाउँदछ । अहिले यही कटियामा पकाएको सुद्ध खसीको मासुको स्वाद खोज्नेहरुको कालिकास्थान स्थित कटिया हाउसमा लर्को लाग्ने गरेको छ । 

 

null

एकथोपा समेत पानी नमिसाई कोइलाको रापमा कटिया पकाउने गरिन्छ । प्याज, लसुन, लगायत आवश्यक मरमसला हालेर माटोकै ढकनीले ४५ मिनेट छोपेपछि कटियाको सुगन्ध हावामा फैलिन्छ । ‘कटियाको सुगन्ध मात्र हैन, स्वाद नै बेग्लै हुन्छ । एक पटक खाएकाले स्वाद विर्सन सक्दैनन् ।’ राजधानीकै गोल्डेन गेट इन्टरनेशनल कलेजबाट ब्याचलर अफ होटल मेनजमेन्ट गरेका कटिया हाउसका चार सञ्चालक मध्येका हरि पाण्डेले भने । 

 

काेदाेकाे मम 

हरिले कटिया हाउसमा तयार पारेको कटियाको रेसिपी भने रौतहटको भन्दा फरक छ । रेसिपी शेयर गर्न नचाहने हरिका अनुसार उनले कटियाको मौलिक स्वादलाई असर नपर्ने गरी कटिया रेसिपी तयार गरेका छन् । ‘पकाउने त माटोको भाँडामा कोइलाको रापबाट हो, त्यसमा मिसाउने मरमसलाले भने स्वाद फरक हुन्छ । मैले परम्परागत शैली र आधिुनिक शैलीलाई मिश्रण गरेको छु’ पाण्डेले भने । 

कोइलाको रापमा विस्तारै पकाइने खसीको मासुको स्वाद दशैं तिहारमा घरमा पकाइने ‘पक्कु’ जस्तै हुन्छ । तर, यो पक्कु जसरी पकाइन्न । 

उनले राजधानीमा कटिया सुरु गर्नु अगाडी रौतहट नै गएर १५ दिन बसेर कटिया बनाउन अभ्यास गरे । दैनिक स्थानीय कटिया ब्यापारी कहाँ गएर त्यसको रेसिपी सिके । ‘एचएम गरेपछि विदेश जाने सोच बनाएको थिए, सिपी पौडेल लगायत अन्य दाईहरुले नेपालमै होटल ब्यवसाय गर्ने सोच बनाइरहनु भएको रहेछ । उहाँहरुको साथ पाएपछी यहिँ केहि गर्ने सोच पलायो ।’ उनी भन्छन्–‘सिपी दाईले रौतहटमा खाएको कटियालाई यहाँ किन नखोल्ने ? भन्नु भयो त्यसपछि, चार जना मिलेर कटिया हाउस सुरु गर्यौं ।’ 

कटिया हाउसका चार सञ्चालकमा पाण्डे, कलाकार सिपी पौडेल, नविन धामी र राज तिम्सिना हुन् ।कटियाको विशेषता भनेको यसको स्वाद हो । कोइलाको रापमा विस्तारै पकाइने खसीको मासुको स्वाद दशैं तिहारमा घरमा पकाइने ‘पक्कु’ जस्तै हुन्छ । तर, यो पक्कु जसरी पकाइन्न । पक्कुमा एकैचोटी मरमसला हालेर मोलमाल गरेपछी पकाउन बसालिन्छ भने, कटियामा मसला विना नै आधा घण्टा पकाएपछि मसला हालेर १५ मिनेट छोपिन्छ । एउटा कटियामा तीन सय देखि साँढे तीनसय ग्रामसम्म मासु पाक्छ । 

यसरी पाकेको खसीको मासु ग्राहकलाई कटियामै राखेर दिइन्छ । कटियाका साथमा ग्रहकलाई रोटी, सादा खाना वा चिउराभुजा दिइन्छ । ‘कटिया मात्रै खाँदा बढि चिल्लो हुने भएकोले अमन हुन सक्छ, चिउरा भुजा, रोटी वा सादा खाना पनि दिन्छौं ।’ सञ्चालक हरि पाण्डे भन्छन् । 

कटिया हाउसमा अहिले दैनिक ६० वटा कटिया बन्छ । ‘बनाउन समय लाग्ने भएकोले ग्राहकको माग पुरा गर्न सकिरहेका छैनौं, एक पटक आएपछि दोहोरिएर आउने ग्राहक धेरै हुनुहुन्छ ।’ हास्य कलाकार सिपी पौडेल भन्छन् । सिपी आजकल दैनिक जसो कटिया हाउसको रिसेप्सनमा भेटिन्छन् । 

 

‘कलाकारिताले आत्मनिर्भर हुन सकिएन, पहिले आफैंले यो ठाउँ अरुलाई भाडामा दिएको थिएँ, केहि नयाँ विजनेश गरौं भनेर साथीहरुसँग मिलेर यता हात हालें ।’ ट्वाक्कटुक्क मार्फत कलाकारितामा छिरेका मोटो ज्यानका सिपीले भने । 

कलाकार सिपी पौडेलले भनेपछि कटिया हाउसमा कटियाको स्वाद लिन कलाकारहरु समेत आउने गरेका छन् । त्यसका अलावा नजिकै सिंहदरबारका कर्मचारी समेत कटियाको स्वाद लिन नियमित आउन थालेका छन् । 

कटिया हाउस भन्ने वित्तिकै कटिया मात्रै पाइएला भन्ने भ्रम नपाल्नु होला । यहाँ कोदोको मम पाइन्छ । बजारमा पाइने मम भन्दा कोदोको मम को स्वाद नै बेग्लै हुन्छ । ‘कोदो भन्ने वित्तिकै पहिला मान्छेहरु नाक खुम्च्याउँथे, तर, कोदोमा जस्तो खनिज अन्य खाद्यान्नमा हुन्न, मम पारखीलाई नयाँ टेष्ट दिउँ भनेर कोदोको मम सुरु गरेको धेरैले मनपराई दिनुभयो ।’ सिपी पौडेल भन्छन् । 

कटिया हाउसमा कटिया, कोदोको मम सँगै अन्य भेराइटी पनि पाइन्छ । तर, यहाँको विशेष डिस भनेको कटिया त्यसपछि कोदोको मम नै हो । 

६० लाखमा सुरु गरेको कटिया हाउसले अहिले १० जनालाई रोजगारी समेत दिन सफल भएको छ । एउटा कटियाको रु ७०० रुपैंया पर्दछ । यसमा ग्राहकले कटियासँगै रोटी, प्लेन राइट र चिउराभुजामा एक रोज्न सक्छन् । 

कटिया पकाउनकै लागि ४५ मिनेट लाग्ने भएकोले ग्राहकलाई पर्खन पट्यार लाग्न सक्छ । त्यहि भएर धेरै ग्राहकले अगाडी नै अर्डर गरेर आउँदा रहेछन् । पकाउन समय लाग्ने भएकोले फोन मार्फत नै अर्डर लिइने गरिएको छ । यसका अलावा कटिया हाउसमै डाइरेक्ट पनि आउन सकिन्छ । 

राजधानीका केहि स्थानमा कटिया विक्रि गरेपनि यसरी कोइलाको रापमा रौतहटकै स्वाद दिने गरी कटिया भने विरलैले बनाउँछन् । ‘हामीले सुरु गर्नुभन्दा पहिले केहि ठाउँमा ग्याँसमा कटिया बनाएको पाएका थियौं, तर, वास्तविक कटिया त माटोको भाँडामा कोइलाको रापमा पकाईंदो रहेछ । हामीले अनुसन्धान नै गरेर सुरु गरेका हौं ।’ सञ्चालक पौंडेल भन्छन् । 

 

कटिया हाउसलाई अब अर्को वर्षसम्म ललितपुरको पुल्चोक, पोखरा र चितवनमा समेत विस्तार गर्ने योजना बनाइएको छ । अहिले नै धेरैले कटिया हाउसको फ्रेन्चाइज माग्न आइरहेपनि सिपी पौडेलले फ्रेन्चाइज दिने योजना नभएको भन्दै थिए । ‘फ्रेन्चाइज माग्न आइरहेका छन्, तर हामी आफैं शाखा विस्तार गर्ने योजनामा छौं ।’ कटिया हाउस खोलेको एक महिना नपुग्दै ग्राहकले दिएको राम्रो रेस्पोन्सले उत्साहित भएका सिपीले भने । 

आफुमा सिप र जाँगर छ भने, पैसा कमाउन विदेश गइरहन पर्दैन । हामी नेपाली विभिन्न धर्म संस्कृति, रहनसहन परम्पराको विविधताले भरिपूर्ण छौं । 

जसरी सिपी पौडेलको टीमले दक्षिण तराईको टिपिकल खाना कटियालाई राजधानी भित्र्याएर केहि नयाँ काम गर्ने सोच बनायो, त्यसरी नै हरेक युवाले हाम्रा परम्परागत कुरालाई आधुनिकतामा त्यसको मौलिकता नमर्ने गरी अंगाल्न सके पैसा टिप्न विदेशको मरुभूमीमा १८ घण्टा खटिनु पर्दैन, मोती फल्ने माटो हाम्रै देशमा छ । 

तस्विरः मकालु खबर, कटिया हाउस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *