बम दिदीबहिनी भन्छन्– ‘हामीलाई अपराधीका रुपमा स्थापित गर्नेविरुद्ध अदालत जान्छौँ’

 

माघ ६, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा अभियुक्तको आरोप खेपिरहेका कञ्चनपुरका दिदीबहिनी बबिता बम र रोशनी बम काठमाडौँ आएका छन् । 

कञ्चनपुरमा आफूहरुलाई केही महिला अधिकारकर्मी र स्थानीय पत्रकारले निरन्तर धम्क्याएको भन्दै काठमाडौँ आएका उनीहरुले सुरक्षाको माग गरेका छन् । 

null

यसअघि प्रहरीले उनीहरु दुवैलाई शंकाको घेरामा राखेको थियो । तर पछि कुनै प्रमाण नभेटिएपछि उनीहरुलाई धरौटीमा रिहा गरेको थियो । 

उनीहरुविरुद्ध सामाजिक सञ्जालमै पक्ष विपक्षमा चर्को बहस भएको थियो । अधिकांशले निर्मलाको हत्यामा बम दिदीबहिनीकै ठूलो हात रहेको आरोप लगाउँदै आएका थिए । उनीहरुसँग प्रमाण नभेटिएपनि अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् । 

काठमाडौँ आएका दिदीबहिनीले भने आफ्नो चरित्रहत्या भएको, गाउँघरमा खुलेर हाँस्न सक्ने अवस्था नरहेको र बारम्बार धम्की आइरहेका भन्दै राज्यसँग सुरक्षाको माग गरेका छन् । 

निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि थप असुरक्षित भएको उनीहरुको दाबी छ । आफ्नो बारेमा सत्यतथ्य नबुझिकन अरुले भनेको अनुमानका भरमा त्यसैलाई सही मानेर लेखेका कारण आफूहरुलाई सर्वसाधारणले दोषी ठानेको उनीहरुको गुनासो छ । 

नेपाल मानव अधिकार संगठनले २०७५ असोज ६ गते सार्वजनिक गरेको प्रतिवेदनतर्फ इंगित गर्दै रोशनीले भनिन्, ‘बारम्बारको अनुसन्धानले हामीलाई दोषी देखाएन । केही मानव अधिकारवादी संगठनले झूटा प्रतिवेदन बनाए  । हामीसँग भेट्दै नभेटी हामीलाई ओपेरा होटलको डान्सर बनाइदियो ।’ 

सामाजिक सञ्जाल, युट्युब च्यानल र सर्वसाधारणबाट समेत आफ्नो चरित्रमाथि औंला उठाइँदा निरीह बन्नुपरेको उनीहरूले बताए । 

‘हाम्रा त चरित्रहत्या भया छ । मानवअधिकारवादीले बेश्या बनाइदिया छ । तीनीहरुले नै निर्मलाका आमालाई हाम्रो बारेमा झुटा कुरा गरेर उचालेका हुन् । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । हाम्रो छरछिमेकलाई पनि सोधेनन् । तर मिडियाले स्थानीयलाई सोधेको भन्छ,’ रोशनीले भनिन् । 

आफूलाई अपराधीको रुपमा स्थापित गर्ने व्यक्ति र संस्थाविरुद्ध भने अदालत जाने बबिताले बताइन् । ‘अहिले न्याय दुर्गादेवी आन्टीलाई मात्र होइन, हामीलाई पनि चाहिएको छ,’ उनले भनिन् । 

निर्मला रोशनकी मिल्ने साथी थिइन् । उनको घरमा बारम्बार जान्थिन् । हत्या भएको दिन पनि निर्मला रोशनीको घरमा नै गएकी थिइन् । त्यहाँबाट घर फर्किएकी निर्मलाको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =