कालो धन चोख्याउने लम्बोदर न्यौपानेको ट्रिक

माघ १४, भक्तपुर । भक्तपुर दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोदर कुमार न्यौपानेले कतिसम्म लूट मच्चाएका रहेछन् भन्ने अर्को तथ्य फेला परेको छ । २०७० सालदेखि ०७४ सालसम्म ४ वर्षको अवधिमा कलेजको २० करोड बढि रकम नितीगत भ्रष्टाचार गरेको संसदीय छानविन समितिले प्रतिवेदन बनाइरहँदा तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेले फर्जी नाम राखेर कलेजको करोडौं रकम हिनामिना गरेको फेला परेको हो ।  

तत्कालिन समय कलेजको अध्यक्ष भएको हैसियतले लम्बोदर न्यौपानेको ठाडो निर्देशनमा कामै नगरी विभिन्न ब्यक्तिलाई लाखौं भुक्तान गरिएको छ । १६/०८/२०१७ को मितिमा लम्बोदर न्यौपानेकै नाममा कलेजले माछापुच्छ्रे बैंकबाट ९ लाख ५० हजार भुक्तानी दिएको छ । कार्यालय प्रयोजन भनेर निकासा गरिएको उक्त पैसाले के काम भयो नत लेखा शाखालाई थाहा छ, नत कलेज सञ्चालकलाई नै ।  

 

null

त्यस्तै अर्को एउटा सादा पेपरमा हस्ताक्षर गरेर लम्बोदर न्यौपालेले ९ लाख रुपैंया लगेका छन् । कलेज प्रमोशनका लागि लगिएको उक्त रकमले के गरियो थाहा छैन । १/११/२०१६ मा किस्ट बैंकबाट शिवराम खड्काको नाममा निकालिएको एड्भान्स रु १५ लाखले के गरियो उल्लेख छैन । 

०७२ साउन २१ गते लम्बोदर न्यौपानेले शिवराम खड्काको नाममा राखिदिने भनेर तीन लाख दिन लगाएका छन् । ०७४ भाद्र १ गते पुनः कलेज प्रमोसनकै नाममा ९ लाख ८० हजार भुक्तान भएको छ । जसको कुनै विल भौचर छैन । ‘यस्ता सयौं नाम छन्, जसबाट लम्बोदर न्यौपानेले करोडौं रकम कुम्ल्याएका छन् ।’ कलेज स्रोत भन्दछ । 

शिवराम खड्काका नाममा ४५ लाख रकम निकासा भएको छ । कलेज स्रोतका अनुसार उक्त नाम गरेको ब्यक्ति कलेजमै छैन । ‘म स्थापना कालदेखि कार्यरत छु, शिवराम खड्का नाम गरेको कर्मचारी, शिक्षक कोहो मलाई थाहा छैन ।’ एक सञ्चालकले भने ।  

 

नेपाल इन्जिनियरिङ कलेजको वार्षिक अडिट रिपोर्टमा २३ करोड बढिको खर्च खुल्न नसकेको उल्लेख छ । जि पौडेल एशोसिएटसले गरेको ०६८ देखि ०७४ सम्मको अडिट रिपोर्टमा २३ करोड १ लाख २३ हजार ४ सय ४३ रुपैंया ५१ पैसा विना विल भौचर, ब्यक्तिगत रुपमा अपचलन गरेको उल्लेख गरेको छ । 

 

अडिट रिपोर्ट अनुसार त्यसबेला कलेजका सञ्चालक र विभिन्न ब्यक्तिका नाममा करोडौं बेरुजु देखिएको छ । तत्कालिन अध्यक्ष लम्बोदर न्योपानेका नाममा अत्याधिक बेरुजु देखिएको छ । उनले सो अवधिमा १३,३२,३६,३९५/– अपचलन गरेका छन् । कलेजका अर्का सञ्चालक रामरत्न उपाध्यायले ७९,३२,५३१.५१/– लवराज भट्टराईले २,४३,५९,८९४/– उपेन्द्र गौतमले १,७८,१६,७१८/– सांसद सूर्यबहादुर केसीले २,१८,५०,८००/– रकम अपचलन गरेका छन् ।  

हरिप्रसाद पाण्डे, दीपक भट्टराई, शोभाकान्त देव, तिर्थराज निरौला, रामकृष्ण श्रेष्ठ, विराजन पोखरेल, शिवराम खड्का, पुष्प भण्डारी, शतिष भण्डारी, तोयानारायण पौडेलको समेत बेरुजु देखिएको छ ।  

 

सञ्चालक मध्येका दीपक भट्टराई र हरिप्रसाद पाण्डेले आफ्नो नाममा देखिएको रकम कलेजलाई फिर्ता गरेको दावि गरेका छन् । ‘कतिपय हिसाब राख्न नजानेर वा विल भर्पाइ नभेटिएर देखिएको हुनसक्छ, त्यो पनि तिरिसकेका छौं ।’ सञ्चालक समिति सदस्य सलिल भट्टराई (दीपक भट्टराईका छोरा) ले बताए ।  

 

सांसद केसीले आफुलाई थाहै नदिई खातामा पैसा हालिदिएको बताए । ‘मैले मागेको थिइन, खातामा पैसा आएछ, त्यो पैसा सामाजिक काममा लगाइदिएको छु ।’ उनले भने । सांसद केसीले दीपक भट्टराई पक्षधरले नक्कली डकुमेन्ट खडागरी आफुहरुलाई बद्नाम गर्दै कलेज हत्याउने सड्यन्त्र गरेको जिकिर गरे । ‘उनीहरुले जेजे गरिरहेका छन् त्यो सबै नक्कली हो, हामीले कलेज दर्ता गर्ने बेलैमा निजी भनेर दर्ता गरेको र मैले पनि निजी कलेज भनेर नै पैसा हालेको हुँ । लम्बोदर जीसँग सबै कागजात छन्’ उनले भने । 

लम्बोदर न्यौपाने अध्यक्ष भएको बेला विभिन्न स्रोतबाट कलेजमा १३ करोड बढि रकम जम्मा भएको छ । उक्त रकम कहाँबाट कसरी आयो सञ्चालकलाई नै थाहा छैन । स्रोतका अनुसार उक्त रकम लम्बोदर न्यौपानेको कालो धन हो । आफ्नो कालो धन लूकाउन उनले विभिन्न ब्यक्तिलाई नै प्रयोग गर्दै कलेजको खातामा पैसा हाल्न लगाएका हुन् । 

 

उनले उक्त रकम पछि विभिन्न ब्यक्तिको नाममा चेक काट्न लगाई आफैं निकालेका छन् । ‘कलेजमा जम्मा भएको पैसा र खर्च भएको पैसाको स्रोत र कारण खुलेको छैन, एउटै ब्यक्तिलाई पटकपटक विभिन्न शिर्षकमा पेश्की भनेर निकासा गरिएको छ । जसको आधिकारिक कारण छैन ।’ स्रोत भन्दछ । 

कलेजमा अनाधिकृत ब्यक्तिको नाममा पैसा जम्मा हुँदै र निकासा भएपछि अर्का सञ्चालक दीपक भट्टराईले ०७४ सालमा सम्पत्ति सुद्धिकरण आयोग देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिप्रका लगायत १३ वटा सरकारी संस्थामा सबै डकुमेन्ट सहित उजुरी दर्ता गराएका छन् । 

कलेजको सञ्चालक समितिले तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई सो विषयमा पटकपटक स्पष्टिकरण समेत सोधेको छ ।  

नेपाल इन्जिनियरिङ कलेजमा यतिसम्मको लापरवाही गरिएको छ की, कलेजको विभिन्न बैंकमा आएका रकमको स्रोत कलेजको लेखा शाखालाई समेत थाहै दिइएको छैन ।  

लम्बोदर न्यौपाने इतरको सञ्चालकले २ करोड रुपैंया विद्यार्थीलाई फिर्ता गरेको जनाएको छ, तर, कुन विद्यार्थीलाई कसरी पैसा फिर्ता दिइयो रेकर्ड छैन । पैसा फिर्ता लिन विद्यार्थीले अनिवार्य निवेदन दिनुपर्ने नियमलाई लम्बोदर न्यौपानेले धोती लगाइदिएका छन् । कलेजको सिद्धार्थ, नविल, माछापुच्छ्रे, प्रभु बैंक लगायतमा खाता सञ्चालनमा छ ।  

२०६० सालमा माछापुच्छ्रे बैंकबाट ऋण लिने बेलामा हालका सांसद तत्कालिन बैंकका सञ्चालक सूर्यबहादुर केसीले फट्याँई गरेर कलेजले विभिन्न बैंकबाट लिएको ऋण आफैंले तिरिदिएर पछि आफ्नैले माछापुच्छ्रे बैंकबाट ऋण दिलाएका थिए । त्यो बेला केसी स्वयं बैंक र कलेजको सञ्चालक भएर ऋण दिलाउन नमिल्ने भएपछि उनले कलेजको सञ्चालक पदबाटै राजिनामा दिएका थिए । कलेज नाफामा गएर करोडौं पैसा जम्मा भएपछि उनी लम्बोदर न्यौपानेको ग्राइन्ड डिजाइनमा पुनः कलेज आए ।  

सञ्चालक समितिबाट राजिनामा दिएर गएका केसीलाई अहिलेसम्म बोर्ड बैठकमा राखिएको छैन । तर, सांसद केसी लम्बोदर न्यौपानेलाई जोगाउन ज्यान फालेर लागेका छन् । कलेजलाई निजीकरण गर्ने दाउमा छन् ।  

‘धन देख्दा महादेवको त्रिनेत्र’ भने जस्तो नेपाल इन्जिनियरिङ कलेजको श्री सम्पत्तिमा आँखा लगाउने लम्बोदर न्यौपाने, सांसद सूर्यबहादुर केसी, रामरत्न उपाध्याय लगायतले सामाजिक संस्थालाई निजीकरण गरी अरबौं रुपैंयामा विक्रि गर्ने सड्यन्त्र गरिरहेका छन् ।  

कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर गत शुक्रबार अबेर नेपाल इन्जिनियरिङ कलेज प्रा.लि.को पुनः दर्ता गर्न सफल भएका दम्बोदर न्यौपाने पक्षधरलाई सर्वोच्च अदालतले स्टे अर्डर दिएको छ ।  

यस अघि असोज १८ गते कम्पनी दर्ता नगरिदिएको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयका विरुद्ध लम्बोदर न्यौपाने पक्षधर उच्च अदालत गएको थियो । अदालतले कम्पनी रजिष्ट्रार कार्यालयलाई नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामको कम्पनी दर्ता गरिदिनु भनेर पुस १३ गते आदेश दिएको थियो । त्यसको पूर्णपाठ माघ १० गते आएपछि ११ गते शुक्रबार लम्बोदर पक्षधर नेपाल इन्जिनियरिङ प्रा.लि. दर्ता गराउन दलबल सहित कम्पनी रजिष्ट्रार कार्यालय गएको थियो ।  

अदालतबाटै स्टे लिएर दलबल सहित लम्बोदर पक्षधरले रजिष्ट्रार कार्यालयका कर्मचारीलाई दवाव दिएर कम्पनी दर्ता गराउन सफल भएपनि सोको विरुद्ध दीपक भट्टराई पक्षधरले आज सर्वोच्च अदालतबाटै स्टे अर्डर ल्याएर तत्कालका लागि नेपाल इन्जिनियरिङ प्रा.लि. को दर्ता स्थगित गरिदिएका छन् ।  

माघ १० गते कलेजले अदालतमा उत्प्रेषण युक्त परमादेश जारी गरिपाउँ, भनि दिएको निवेदनमा आज सोमबार प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराको एकल इजलासले कम्पनी रजिष्ट्रार कार्यालयलाई अन्तरिम आदेश जारी गरेको कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले बताए । त्यस आदेशले कलेजको बैंक खाता कब्जा गर्ने लम्बोदर पक्षको योजना असफल भएको छ ।  

लम्बोदर न्यौपानेले ०७४ बैशाख २५ गते कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि.नामक कम्पनी खडा गर्दै नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त नेपाल इन्जिनियरिङ कलेज प्रा.लि.मा रहेको भन्दै एकलौटी पार्ने सड्यन्त्र गरेका थिए । कलेज सञ्चालकहरुले सो कुरा थाहा पाएपछि उत्पन्न विवादमा कम्पनी रजिष्ट्रार कार्यालयले ०७४ मसिर २० गते नै प्रालि.को दर्ता खारेज गरिदिएको थियो । त्यसपछि उनले पुनः कम्पनी दर्ता गरिपाउँ भनि पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *