भुकम्प पुर्ननिर्माणको तीन वर्ष रानीपोखरीको हालत जस्ताको तस्तै

माघ ५, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको गति शून्य रहेको छ । विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी सोही वर्ष माघ २ गते राष्ट्र प्रमुखबाट शिलान्यास भएको थियो ।
विसं २०७३ को तिहारका लागि प्रयोगमा ल्याइने भन्दै शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको प्रगति अहिले पनि शून्य नै रहेको छ । रानीपोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरको हो । पोखरीको पुनःनिर्माण गर्ने भन्दै यसअघि कामपाले तेस्रोपटक बोलपत्र गरिसकेको छ ।
null
पुनःनिर्माणकै लागि अबको केही दिनमा चौथो पटक बोलपत्र आह्वान गर्ने तयारी कामपाको रहेको छ ।
कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार विगत तीन वर्ष रानीपोखरी पुनःनिर्माण कार्य विवादमै रुमल्लिए पनि आगामी तिहारमा प्रयोग गर्न सकिने गरी अब निर्माणको तयारीमा कामपा जुटेको छ । कामपाले पोखरीमा र पोखरी आसपासमा कङ्क्रिट प्रयोग गरेको भन्दै उत्पन्न लामो विवादपछि रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ टुङ्गिएको छ । विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति पनि भइसकेको छ ।
अहिले रानीपोखरी सुख्खा चौरमा परिणत भएको छ । यसअघि जस्तै विवाद भइराख्ने हो भने आगामी तिहारसम्ममा पनि पोखरी बन्ने कि नबन्ने भन्ने अन्योल कायमै छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो तिहारअघि रानीपोखरीमा पानी भरिने र मन्दिर निर्माण भइसक्ने दाबी गरेको छ ।








