अनलाइन बस टिकट प्रति यात्रुको आकर्षण बढ्दै

माघ ४, काठमाडौँ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ ।
आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइन मार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइन मार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् ।
बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, “हामीले तीन वर्ष अगाडि सेवा शुरू गरेका हौँ, पछिल्लो समयमा अनलाइनबाट टिकट काट्ने यात्रुको सङ्ख्या बढिरहेको छ । सुरुसुरुमा यातायात व्यवसायीले अनलाइनमार्फत टिकट बिक्री गर्ने कुरामा चासो नदेखाए पनि पछिल्लो समय यातायात व्यवसायी समेत यसमा आकर्षित भएका छन् ।
null
“अहिले यातायात व्यवसायीले सुविधा सम्पन्न एसी/डिलक्स गाडीमा लगानी बढाइरहेका छन् । महङ्गो मूल्यमा गाडी खरीद गरेसँगै यात्रुलाई पनि गुणस्तरीय सेवा दिनका लागि उनीहरू प्रविधिको प्रयोग गर्न उत्सुक भएका छन्। ”, सिइओ खनालले भने ।
धौलागिरि यातायात व्यवसायी समितिका अध्यक्ष उमेश केसीले हिजोका दिनमा हातले टिकट काट्दा यात्रु र कर्मचारी दुवैलाई झञ्झट थियो, अहिले यात्रु काउन्टरसम्म पुग्न नपर्ने र कर्मचारीलाई पनि काम गर्न सहज हुने भएका कारण अनलाइन टिकटिङ शुरू गरेको बताए । व्यवसायीलाई सवारीको प्रबन्ध मिलाउन र टिकटलाई व्यवस्थापन गर्नका लागि प्रविधिको प्रयोगले धेरै सहज भएको उनको भनाइ छ ।
यस्तै अनलाइन टिकटिङको सेवा दिइरहेको नमस्ते कपिलवस्तु यातायात प्रालिका अध्यक्ष कुमार खड्काले पनि पछिल्लो समय अनलाइनबाट टिकट काट्नेको सङ्ख्या बढेको बताए । अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ ।
यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्छन् । ‘बि–सफ्ट’ सफ्टवेयर प्रयोग गर्दा यातायात व्यवसायीलाई समेत धेरै फाइदा हुने सिइओ खनालको भनाइ छ ।
उनले भने, “सबै कुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा मानवीय त्रुटिका कारण हुने कमजोरी हट्छ ।” यसको प्रयोग गर्दा दशैँ तिहार तथा अन्य समयमा धेरै यात्रु ओहोरदोहोर गर्ने समयमा पनि टिकट दोहोरिने तथा टिकटमा कालोबजारी गर्न नसक्ने हुँदा यातायात व्यवसायीलाई पनि सेवा प्रदान गर्न सहज हुने उनकाे भनाइ छ ।
यस्तै यात्रुलाई पनि घरबाटै टिकट काट्न सकिने हुँदा समय र खर्च दुवैको बचत हुनुका साथै टिकट बुकिङकै लागि काउण्टरमा गई लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति मिल्छ । बस सेवा डटकम, बस सेवा मोबाइल एप्स लगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ ।








