जनवरी अन्तिमबाट बथनाहादेखि बुधनगरसम्म रेल आउँदै

माघ ११, विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म यही महिना भित्र रेल आउने भएको छ । विराटनगर बथनाहा रेल्वे खण्डमा रेल मार्ग निर्माण सम्पन्न गरेर जनवरी अन्तिमदेखि रेल कुदाइने भएको हो ।  

पहिलो चरणमा भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे खण्डको काम ९५ प्रतिशत बढी पुरा भएको भारतीय निर्माण कम्पनी इरकोनले जनाएको छ । सो कम्पनीका जेनेरल म्यानेजर प्रदीप कुमारले भारतको बथनाह देखि बुधनगर स्थित भेडीयारी सम्म गत नोभेम्वर ४ मै रेल्वेको सफल परिक्षण गरिएको र अब सो स्थान सम्मको रेल्वे मार्गको सवै काम सम्पन्न गर्न रेल गुड्ने योग्य ट्रयाक बनाईरहेको बताए । उनले आगामी जनवरी अन्तिम सम्म भारतको बथनाहदेखि बुधनगरसम्म ८ किलोमिटर मालवाहक रेल गुड्ने दावी गरे ।  

उनले भने ‘अहिले रेल गुड्न योग्न बनाउन र फाईनल सेपमा ल्याउनका लागि हामी टाईटाम्पीङ मेशीनले ट्रयाकलाई ठिक गर्ने काम गरिरहेका छौँ, यो क्रम लगभग सकिने चरणमा छ । पहिलो चरणमा बुधनगर सम्म रेल ल्याईनेछ र यसका लागि यसै महिना भित्र सम्पूर्ण काम सक्नेछौँ ।’  

null

 

कम्पनीका अनुसार भारतको बथनाहादेखि बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा लिकं बिछ्याउने काम सम्पन्न भएको छ । जसमा भारत तर्फ ५ किलो मिटर र नेपाल तर्फ ३ किलो मिटर क्षेत्र रहेको छ । भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनामा हालसम्म अढाई सय करोड बढी रुपैयाँ खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ ।  

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । तर, अहिले कुल रेल्वे खण्डको ८ किलो मिटर बुधनगरसम्मको रेल्वे मार्ग निर्माणको काम पुरा भएको छ । 

भारतको बथनाहादेखि विराटनगरको बुधनगर हुदै कटहरीसम्म रेल्वे खण्ड निर्माणको काम ६ वर्षअघि देखि शुरु भएको थियो । निर्माण कम्पनीले नेपाल तर्फको क्षेत्रमा मुआव्जाको बिवादका वावजुद पनि रेल्वे निर्माणको कामलाई अगाडी बढाएकोले पहिलो चरणमा बथनाहदेखि बुधनगरसम्म रेल आउने कार्य अघि बढेको नेपालस्थित रेल बिभागले जनाएको छ । भारतको कोलकत्ताबाट नेपाल जोडने सिधा रेलमार्ग नहु्ँदा औद्योगिक कच्चा पदार्थ कन्टेनरबाट ल्याउनु पर्ने अबस्था छ । जसका कारण खर्चको लागत बढ्ने गरेको नेपाली उद्योगी व्यवसायीको गुनासो रहँदै आएको छ ।  

 

भारतबाट सिधा नेपालसम्मको रेलमार्ग तयार भएको अबस्थामा तेश्रो मुलुकबाट एवं भारतबाट आउने औद्योगिक कच्चा पदार्थको लागत कम पर्ने साथै नेपाली उद्योगी व्यवसायीलाई मालबस्तु आर्यातमा सहज हुने उद्योगी व्यवसायीको भनाई छ ।  

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा भन्छन् ‘अहिले भारत लगायत तेस्रो मुलुकबाट सामान आयातमा जुन समय र पैसा खर्च भई रहेको छ, रेल्ले सुरु भएपछी त्यो निश्चय पनि निकै घट्नेछ । अहिले सिमा वारि र पारि लाग्ने भिड पनि अन्त्य हुनेछ ।’ उनी भन्छन्–‘समग्रमा यो प्रोजेक्टले स्वदेशी उद्योगी व्यवसायीको वर्षौंदेखि लाग्दै आएको लागत कम हुनेछ र उत्पादीत बस्तुको लागत समेत स्वतः घटि बस्तुको मुल्य समेत घट्नेछ ।’ 

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । तर, अहिले कुल रेल्वे खण्डको ८ किलो मिटर बुधनगरसम्मको रेल्वे मार्ग निर्माणको काम पुरा भएको छ । वाँकी रेल्वे मार्गको निर्माणको कामले गति लिन सकेको छैन । भारत–नेपाल सीमाको स्टेसनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा अझै मुआव्जा विवाद कायमै छ । रेल्वे योजना कटहरी सम्म १८ किलोमिटरको हो । तर, विवादका कारण बुधनगरदेखि कटहरी सम्मको रेलमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *