मेलम्चीको इटालियन ठेकेदार कम्पनी सीएमसी हप्तादिनदेखि सम्पर्कबिहीन

मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ। 

सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ। 

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजाना र ठेकेदारपक्षसँग संवाद नभएको बताए। 

null

‘गएको सोमबार नेपाल फर्किने भनेर ठेकेदार कम्पनीले नेपाल छोडेको थियो’, उनले भने –‘त्यसको अघिल्लो दिन हामी आउँछौँ भनेर इमेल आएको थियो। त्यसयता न ठेकेदार आयो न इमेल नै।’नेपाल समाचार पत्रमा खबर छ। 

बोर्डले समस्या समाधानका लागि कम्पनीका सीइओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली नभए प्रतिनिधिलाई वार्तामा बोलाएको थियो। कम्पनीले आउने संकेत दिएको थियो। तर अहिलेसम्म उनीहरु नेपाल फर्किने-नफर्किने ठेगान छैन।  

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरिएको थियो। पुस २३ गते फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो। 

आयोजना र ठेकेदारबीच हुने संवादमा बाँकी काम सम्पन्न गर्नेबारे वार्ताबाटै समाधान निकाल्ने विषयमा कुरा हुने गरेको मेलम्ची बोर्डले जनाएको छ। 

खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले ठेकेदार आउने भनिए पनि अहिलेसम्म नआएको र पछिल्लोपटक केही संवाद नभएको बताए।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =